कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल बन्द भएपछि यात्रु समस्यामा

Share post:

महेन्द्रनगर ।
एसियाको दोस्रो लामो दोधारा– चाँदनी झोलुङ्गे पुल भएर आवतजावत गर्न रोक लगाएपछि यात्रुहरु समस्यामा परेका छन् ।

मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गएको दोधारा– चाँदनी झोलुङ्गे पुलमा मर्मत, सम्भारको काम भइरहेकाले पुल दैनिक ५ घण्टाका लागि बन्द गरिएको छ ।

दैनिक ५ घण्टा पुलमा आवातजावत रोक लगाए पछि समस्या भएको यात्रु रमेश बोहराले गुनासो गरे ।

‘हामीलाई त जानकारी थिएन, पुल बन्द छ भनेर । पुल घुम्न आएका थियौँ । ४ घण्टादेखि कहिले खुल्छ भनि यत्तै कुरी बस्यौँँ ।’ उनले भने, ‘पुल बन्द हुँदा हैरानी खेप्नु परेको छ ।’

यो पनि पढ्नुहोस्ः दोधारा चाँदनी झोलुङे पुलमा आवातजावत रोक

महाकाली पारीको दोधारा– चाँदनीलाई कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने दोधारा– चाँदनी झोलुङ्गे पुल जीर्ण हुँदै गएपछि मंसिर २१ गतेदेखि मर्मत, सम्भारको काम जारी रहेको छ ।

मर्मत, सम्भारको अवधिसम्म बिहान ७ः१५ देखि ९ः१५ तथा बिहान ११ बजे देखि २ बजेसम्म गरि दैनिक ५ घण्टा पुल भएर आवतजावतमा रोक लगाइएको मर्मतको जिम्मा पाएको खाम्पाचे/देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी डडेल्धुराका प्रोप्राइटर डम्बरदत्त भट्टले दैनिक सञ्चारलाई बताए ।

उनका अनुसार सम्भवतः आज बेलुका सम्म पुल मर्मतको काम सकिने छ । मंसिर २१ गतेदेखि सुरु भएको मर्मत, सम्भारको कामले झण्डै एक महिना लामो समय लिएको छ ।

झण्डै महिना दिनसम्म दोधारा– चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने एक मात्र पुल दैनिक ५ घण्टा पुल बन्द हुँदा पुल भएर ओहोर दोहोर गर्ने स्थानीय तथा त्यहाँ पुग्ने पर्यटकहरुले सास्ती खेप्नु परेको छ ।

सुुदूरपश्चिम प्रदेश सरकार मातहातको जिल्ला पूर्वाधार विकास कार्यालय कैलालीको ४९ लाख ५० हजार लगानीमा पुलको मर्मत कार्य भइरहेको हो ।

विसं २०६१ मा निर्माण गरिएको एक हजार चार ५६ मिटर लम्बाई तथा १.५ मिटर चौडाई रहेको पुलको मर्मत सम्भारमा ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको थियो ।

पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका छन भने कति त चोरी भएका छन् । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था छ । हाल भने पुलको मर्मत कार्य जारी रहेको छ ।

ताजा समाचार