चिसो बढेपछि कञ्चनपुरमा दाउरा बाँड्दै सामुदायिक वन

Share post:

महेन्द्रनगर ।
शीतलहरसँगै कठयाङग्रिने चिसो बढेपछि कञ्चनपुरका सामुदायिक वनहरुले आगो ताप्न दाउरा बाँड्न थालेका छन् ।

शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्थानमा सामुदायिक वनहरुले आगो बालेर ताप्नका लागि दाउरा वितरण गरेका हुन् ।

ह्वात्तै चिसो बढेपछि नागेश्वर सामुदायिक वनले नगरपालिकाको वडा–६ स्थित कसरौल, ५ को गर्जमुनि र वनसमिति बजारमा दाउराको व्यवस्था गरी आगो ताप्ने प्रबन्ध मिलाएको छ ।

यसैगरी, श्रीकृष्ण सामुदायिक वनले कलुवापुर बजारका ठाउ ठाउमा दाउराको व्यवस्था गरी आगो ताप्ने व्यवस्था गरेको छ ।

चिसोका कारण यात्रु, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुन थालेपछि आगो ताप्न दाउराको व्यवस्था गरिएको सामुदायिक वनका अध्यक्ष जय बहादुर ऐरले बताए ।

वन समूहहरुले आगो ताप्ने दाउरा वितरण गरेपछि विपन्न परिवारका सदस्यहरु, व्यापारी र बटुवाहरु लाभान्वित भएका छन् ।

केही दिन देखि कैलाली कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यस क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ ।

ताजा समाचार