महेन्द्रनगर ।
पुस ११ गतेदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको खुलामञ्च हुन लागेको सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी पुुुरा भएको छ ।
‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान, सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुस ११ देखि २० गतेसम्म महोत्सव हुन लागेको छ । महोत्सवको तयारी पूरा भएको आयोजकको दाबी छ ।
सम्बन्धित सामाग्रीहरु
महोत्सवको तयारी स्वरुप महेन्द्रनगर खुलामञ्च बेहुली झै सिंगारिएको छ । महोत्सव स्थलमा स्टल व्यवस्थापन, खुलामञ्च घेरबार, बाल उद्यान, प्रवेशद्धार लगायतका काम सकिएको आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय एंवम राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति रहने छ । आयोजकका अनुसार महोत्सवको पहिलो दिन पुस ११ गते सुदूरपश्चिमका चर्चित देउडा गायक महेश कुमार औजीको प्रस्तुति रहने छ ।
यस्तै पुस १२ गतेका लागि चर्चित गायक टंक बुढाथोकी प्रमुख आकषर्क रहेका छन् भने पुस १३ गते गायिका बिन्दु परिवारको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिन सक्ने छन् ।
पुस १४ गते नेपाल आइडल–२ विजेता गायक रवी ओड, पुस १५ गते दिनेश आचार्य र टंक तिमिल्सेना, पुस १६ गते कुलेन्द्र बि.क., पुस १७ गते निशान भट्टराई, पुस १८ गते चक्र बम, पुस १९ गते रमेश राज भट्टराई र पुस २० गते प्रकाश सपुतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि समेत महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हेमबाबु लेखकले बताए ।
संयोजक लेखकले नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको बताए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेशका साँस्कृतिक, धार्मिक, ऐतिहासिक एंवम् पर्यटन स्थलको प्रचार प्रसार एव प्रबद्र्धन र विपन्न समुदायका बालबालिकाको पठन पाठनका लागि परोपकार कोष स्थापना गरिने छ ।
महोत्सवमा सुदूरपश्चिमका पर्यटकीय स्थल, धार्मिक ऐतिहासिक क्षेत्र र विभुतिको तस्बिर प्रदर्शनी, मौलिक खाने परिकारका साथै सबै धर्म,भाषा संस्कृतिको पहिचान झल्किने भेषभुषा र रहनसहन झल्काउने तस्बिर तथा प्रदर्शनी गरिने छ ।
महोत्सवबाट यस क्षेत्रमा धार्मिक, पर्यटकीय ऐतिहासिक क्षेत्रको प्रचार प्रसार मात्र नभई यस क्षेत्रको मौलिक संस्कृतिको समेत संरक्षण हुने भएकाले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।