महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीमा गए राती एक घरमा चोरी भएको छ ।
भीमदत्त नगरपालिका–३ भाँसी ब्रह्मदेव लिंक रोडस्थित मुकेश थापाको घरमा चोरी भएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताए ।
‘घर पछाडितर्फ सानो ताला रहेछ, त्यही ताला तोडेर चोरी भएको देखिन्छ ।’ प्रहरी निरीक्षक बुढथापाले दैनिक सञ्चारसंग भने, ‘के कति धनमाल चोरी भएको भने खुल्न सकेको छैन ।’
उनका अनुसार ब्रह्मदेव लिंक रोडस्थित चोरी भएको घरका सदस्यहरु विगत २० दिनदेखि पहाड घर (डडेल्धुरा) गएका थिए ।
‘घरका सदस्य बाहिर भएकाले के कति चोरी भएको खुल्न सकेको छैन ।’ प्रहरी निरीक्षक बुढथापाले भने, ‘घरका मानिसहरु आए पछि मात्र खुल्छ । घरका मान्छे आज यहाँ पुग्दैछन् ।’
प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र रहेका लुगा, टिभी चोरी भएको खुलेको छ । शंकास्पद व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।