झलारी ।
शुक्लाफाँटा नगरपालिकाको मुख्य बजार झलारीमा बृहत रुपमा सरसफाई गरिएको छ । ‘पर्यटन वर्ष २०२० सफल पाराँ, गाँउ सहरको वातावरण स्वच्छ र सफा राखौँ’ भन्ने मूल नाकाका साथ शनिवार झलारीमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
न्यू एकता युवा क्लव झलारीको आयोजना,शुक्लाफाँटा नगरपालिका वडा नम्वर १० वडा कार्यालयको बिशेष सहयोग एंवम शुक्लाफाँटा खबर दैनिक पत्रिकाको विशेष पहलमा वृहत सरसफाई गरिएको थियो ।
सरसफाई अभियानमा नेपाल विद्यार्थी संघ कृष्ण वैजनाथ बहुमुखी क्याम्पस ईकाइ कमिटी सदस्यहरु र ईलाका प्रहरी कार्यालय झलारीका प्रतिनिधिको सहभागीता रहेको थियो ।
न्यू झलारी क्लिनिकले फोहोर उठाउन प्रयोग गरिने ग्लब्स उपलब्ध गराएको थियो भने ऐर छापाखाना एण्ड स्टेशनरीले निःशुल्क रुपमा ब्यानर उपलब्ध गराएको थियो ।
कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर पनि सहभागी भएका थिए । नगर प्रमुख ऐरले युवाहरु एकजुट भई सामाजिक कार्यमा अग्रसर हुनु सराहनिय कार्य भएको बताए ।
युवाले स्वतस्र्फुत बजार क्षेत्रमा सरसफाई गर्दा बजारको सौदार्यता बढेको छ । पर्यटन वर्ष २०२० सफल पार्न युवाहरुको महत्वपुर्ण साथ अनिवार्य रहेकाले सरसफाई अभियानको निरन्तरतासंगै शुक्लाफाँटा नगरपालिकाको १२ वटै वडामा पनि सरसफाई कार्यक्रम सञ्चालन गर्न आफुले सहयोग गर्ने नगर प्रमुख ऐरले प्रतिबद्धता जनाएका छन ।
आयोजक न्यू एकता युवा क्लब झलारीका अध्यक्ष शुरेस चौधरीले सरसफाई अभियानमा साथ दिने सहयोगी हातहरुलाई धन्यबाद दिदै क्लबले निरन्तर रुपमा साताको प्रत्येक शनिवार झलारी बजार पूर्ण रुपमा सरसफाइसंगै अन्य सामाजिक कार्य लाई निरन्तरता दिने बताए ।
नेपाल बिद्यार्थी संघ कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीका इकाई कमिटि संयोजक प्रतिक रावलले स्थानीय सरकाले गर्न नसकेको सरसफाई जस्तो महत्वपुर्ण कार्य नगर भित्रका युवाहरुले गरेको बताए । पर्यटन बर्ष २०२० लाई मध्यनजर गरी आफ्नो संगठनले निरन्तर रुपमा बृहत सरसफाई अभियानमा सक्रिय रुपमा सहयोग गर्ने समेत उल्लेख गरे ।
पर्यटन बर्ष २०२० को पूर्व–सन्धयामा शुक्लाफाँटा नगरपालिकाका युवा तथा संघ सस्थाले गरेको यो उदाहरणीय काममा बृहत सरसफाई अभियानमा झलारी बजारका व्यवसायीको पनि पूर्र्ण समर्थन रहने ऐर छापाखाना एण्ड स्टेशनरीका सञ्चालक ललित बहादुर ऐरले बताए ।
त्यसैगरी बृहत सरसफाई अभियानलाई सञ्चालन गर्नुपर्छ भनि पहल गर्ने झलारीका पत्रकार गौरब बिष्टले स्थानीय सरकारले प्राथमिकतामा राख्नु पर्ने सरसफाई जस्तो महत्वपुर्ण कार्यक्रमलाई चासोको बिषयमा लिन नसकेको गुनासो गरे ।
आफुले बिभिन्न संघ–सस्था,युवा क्लब,ब्यापारी तथा पत्रकार साथीहरुको साथ, सहयोगले शनिबार पहिलो चरणको सरसफाई अभियान सम्पन्न गरेको उनले बताए ।
उनका अनुसार आउँदो शनिबार झलारी बजार लगायत शुक्लाफाँटा नगरपालिकाकै दोस्रो ठुलो बजार कलुवापुर, बनसमिति बजार क्षेत्रमा समेत सरसफाइ गरिने छ ।