बझाङका विरामी भन्छन् ‘डाक्टर भन्दा जोशीको बढी विश्वास लाग्छ’

Share post:

बझाङ । मदनराज जोशीको घरमा दिनहुँ जसो भीड लाग्ने गर्छ । त्यो भीड लाग्नुको कारण कुनै सामान बाँड्नलाई बसेकाहरूको भने होइन् ।

उनी बझाङमा एक नाम चलेका बैद्य हुन् । उनको घरमा बिरामीहरूको भीड लाग्ने गरेको हो ।

चिकित्सा विज्ञानले समेत उपचार गर्न नसकेको उपचार पद्धती आफुसँग रहेको जोशीको दाबी छ ।

उनले क्यान्सर, सुगर, पायल्स, प्यारालाइसिस, जण्डीस, बाझोपन जस्ता रोगहरूको परम्परागत पद्धतीबाट उपचार गर्दै आएका छन् ।

बझाङको छविसपाथीभेरा गाउँपालिका–६ ओझा गाउँका ३० वर्षीय जोशीले परम्परागत पद्धतीबाट उपचार गराउन थालेको दुई दशक भयो ।

उनले हरेक रोगको जडिबुटी प्रयोग गरेर उपचार गराउँदै आएका छन् ।  जोशीले आफ्नो बुबा,हजुरबुबाले गर्दै आएको पेशालाई अगाडि बढाइरहेका हुन् । त्यो क्षेत्रमा सर्पले टोकेका विरामीहरू पनि अस्पताल भन्दा उनलाई बढी विश्वास गर्छन् ।

त्यसको लागि उनी पनि रातदिन नभनेर विरामीको उपचारमा खटिरन्छन् ।

बाउबाजेले गर्दै आएको देखेर उनले पनि १२–१३ वर्षको हुँदा नै उपचार गराउन थालेका थिए । “बुवाबाजेले गरेको देखेर औषधि दिने, कुन विरामीलाई कस्तो प्रकारको औषधि दिने भनेर बुवा बाजेले सिकाउनुभयो । त्यही सिकेर अहिले काम गरिरहेको छुँ ।” उनले भने ।

उनले परम्परागत पद्धतीमा केही आधुनिकता ल्याउन खोजिरहेका छन् । त्यसका लागि सरकारी निकायसँग समन्वय गरेर अगाडि बढ्न चाहन्छन् । सरकारले परम्परागत पद्धतीलाई पनि उपचारको एउटा माध्यम मानेर सहयोग गरेमा यसलाई पनि आधुनिकतातिर लैजान सकिने उनको विश्वास छ ।

सञ्जिवनी प्रतिष्ठान नेपाल दर्ता गराएर जडिबुटी मार्फत आधुनिक उपचार गराउने मनसायमा जोशी छन् । त्यसको लागि सरकारले सहयोग चाहिने उनी बताउँछन् ।

“चिकित्सा विज्ञानले पनि पत्ता लगाउन नसकेको रोगको यो पद्धतीबाट उपचार गर्न सकिन्छ । त्यसको लागि थप अध्ययन गर्ने मेरो सोच छ । त्यसमा राज्यले सहयोग गरिदिए हुन्थ्यो ।”जोशीले भने ।

उनले बझाङका ५० बढी वैद्यहरूलाई एककृत गरेका छन् । उनीहरूले सिकेको सीप तथा प्रतिभालाई सिस्टम बनाएर लैजाने जोशीको सोच छ ।

हिमाल तथा पहाडी क्षेत्रमा त्यतिकै खेर गइरहेको जडिबुटीको प्रयोग गरेर उपचार गराउने योजना रहेको जोशीले बताए । “नेपालका हिमालहरूमा अथाह मात्रामा बहुमुल्य जडिबुटी छन् । त्यसबारे थप खोज तथा अध्ययन हुनुपर्छ । त्यहि जडिबुटीको प्रयोग गरेर आधुनिक चिकित्साभन्दा राम्रो गर्न सकिन्छ ।” उनले भने ।

उनी वैज्ञानिक ढंगबाट अगाडि बढ्न खोजिरहेका हुन् । परम्परागत औषधि उपचार पद्धतीलाई आधुनिकतामा ढाल्ने र विदेशबाट आयात हुने रसायनयुक्त औषधि प्रतिस्थापन गर्ने उनको सोच रहेको छ ।

ताजा समाचार