सुदूरपश्चिममा आज ‘पुसे १५’ पर्व मनाइँदै

Share post:

महेन्द्रनगर ।
सुदूरपश्चिम प्रदेशमा ठूलीरात पर्व धुमधामसँग मनाइँदै छ। पुस १५ गते रात वर्षको सबैभन्दा लामो हुने भएकाले ठूलीरात भनिन्छ।

ठूलीरातमा राति मीठा परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। उनले भने, ‘रातभरि दन्त्य कथा, कहानी ९स्थानीय भाषामा आइना ,बातै सुन्ने र सुनाउने तथा तरुल सखरगञ्ज पकाएर खाने गरिन्छ।’

पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने प्रचलन छ। तेल वा घिउमा तारेर खानेकुरा तयार पारिन्छ। यस्तै, घिउ हालेको भात खाने गरिन्छ।

तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट कुन्क्यौलो (वनभोज) खाने पनि प्रचलन छ। पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरलाई स्फुर्ति दिन चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको स्थानीयहरु बताउँछन्।

यस पर्वमा विवाहित छोरीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गरिन्छ।

विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्त्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ।

अंग्रेजी क्यालेन्डरअनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन भनिए पनि सुदूरपश्चिममा भने पुस १५ लाई छोटो दिनका रुपमा मानिन्छ।

ताजा समाचार