महेन्द्रनगर ।
नेपाल–भारत पश्चिमी सीमास्थित कञ्चनपुरको महाकाली र भीमदत्त नगरपालिका क्षेत्रमा रहेका झण्डै २७ सीमा स्तम्भ वर्षौदेखि अलपत्र अवस्थामा छन् ।
महाकाली नगरपालिकाका १६ र भीमदत्त नगरपालिकाको पश्चिम क्षेत्रका ११ गरी २७ सीमा स्तम्भ वर्षौदेखि अलपत्र छन् । जिल्लाको महाकाली नदी पारी रहेको दोधारा–चाँदनी क्षेत्रमा रहेका नेपाल भारत सीमा स्तम्भमध्ये १६ वटा सीमा स्तम्भ अझै अलपत्र रहेका हुन ।
यो पनिः सञ्चारमन्त्री बाँस्कोटा भन्छन्ः‘लिपुलेक र कालापानी बारे प्रश्न नगर्दा नै हुन्छ’
दोधारा चाँदनी क्षेत्रमा मुख्य १६ र सहायक ४४ गरी जम्मा ६० वटा सीमा स्तम्भ थिए । तर वर्षौदेखि सो क्षेत्रका १६ सीमा स्तम्भ गायब जस्तै पारिएका छन् । दोधारा–चाँदनी क्षेत्रमा रहेका ६० सीमा स्तम्भमध्ये हाल ३३ वटा मात्र रहेको दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्ट (बिओपी) का प्रहरी निरीक्षक राम सिंह भण्डारीले बताए ।
‘यो अहिलेको समस्या होइन, वर्षौदेखि आधा सीमा स्तम्भ मात्र छन् ।’ प्रहरी निरीक्षक भण्डारीले दैनिक सञ्चारसंग भने, ‘हाल बिओपी स्थापना भए पश्चात् भने सीमाको समस्या आएको छैन ।’
यो पनिः कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रका १६ सीमा स्तम्भ वर्षौदेखि गायब
उनका अनुसार दोधारा–चाँदनी क्षेत्रमा रहेका ६० सीमा स्तम्भ मध्ये हाल ३३ मात्र रहेका छन् । बाँकी सीमा स्तम्भहरु केही पानीमा हराएको, फेला नपरेको तथा निर्माण नभएको भन्दै विभिन्न शीर्षकमा शसस्त्र प्रहरीले राखेको छ ।
तथ्याङ्क अनुसार सो क्षेत्रमा रहेका १६ मुख्य स्तम्भहरुमध्ये हाल १२ मात्र रहेका छन् भने एक पानीमा हराएको र तीन फेला नपरेको जनाइएको छ । यस्तै ४४ सहायक सीमा स्तम्भमध्ये २१ हाल छन् भने ११ वटा हालसम्म पनि निर्माण भएका छन् । १० सहायक स्तम्भ पानीमा हराएको र २ फेला परेका छैनन् ।
२०७० फागुन ७ गते दोधारा–चाँदनी स्थित बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको थियो । सीमामा पोष्ट स्थापना भए पश्चात् सशस्त्र प्रहरीले नियमित गस्ती गरिरहने गरेको र हाल सीमा अतिक्रमण तथा सीमामा केही विवाद नरहेकोे दाबी छ ।
एसएसबीहरुसँग बेला बेलामा छलफल हुने गरेको प्रहरी निरीक्षक धामी बताउँछन् । ‘सर्वे टोलीले सीमा निर्धारण गर्दछ । यसको बारे कुरा भएको छ । सीमा निर्धारणका लागि हामीले टोलीलाई आग्रह गरेका छौँ ।’ उनले भने ।
ब्रह्मदेव क्षेत्रका ११ स्तम्भ गायब
जिल्लाको उत्तरी क्षेत्रमा मात्रै नेपाल–भारत सीमा छुट्याउने ११ वटा सीमा स्तम्भ गायब छन् । नेपालको पश्चिमी सीमा नाका कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको दशगजामा राखिएको ११ सिमा स्तम्भ गायब पारिएका छन् ।
ब्रह्मदेव स्थित बोर्डर आउट पोष्ट (बिओपी) का अनुसार आफ्नो क्षेत्र अन्तर्गत पर्ने ४० सीमा पिल्लरमध्ये ११ सीमा स्तम्भ गायब भएका छन् । सीमा स्तम्भ नम्बर ८१३, ८१३/१, ८१३/२, ८१४, ८१४/१, ८१४/२, ८१५, ८१५/१, ८१५/२ र ८१६, ८१६/१ स्तम्भ गायब पारिएको ब्रह्मदेव स्थित बोर्डर आउट पोष्ट (बिओपी) ले जनाएको छ ।
सबैभन्दा बढि विवाद सीमा स्तम्भ नम्बर ८११ र ८१०र२ रहेको सशस्त्र प्रहरीले जनाएको छ । गायब पारिएका स्तम्भमा धेरैजसो पानीमा डुबेको तथा हराएर फेला नपारिएको जनाइएको छ ।
सीमा स्तम्भ नम्बर ८११ र सहायक सीमा स्तम्भ ८१०/२ हराएको सूचिमा छन् । ती हालसम्म पनि भेटिएका छैनन् । यद्यपी भारतले भने उक्त सीमा स्तम्भका ठाउँमा कतै काठको पिल्लर, कतै अस्थायी पिल्लर मानेको छ ।
एसएसबीले विवाद रहेका ८११ र ८१०/२ दुई सीमा स्तम्भमा काठ र अस्थायी इटाको खम्मालाई पिल्लर मान्ने गरेको तर आफूहरुले त्यसलाई नमानेको ब्रह्मदेवस्थित बिओपीका प्रहरी निरीक्षक रामराज खनाल बताउँछन् । जिमुवादेखि खल्ला–मसेट्टी क्षेत्रसम्म रहेका १२ मुख्य र २८ सहायक गरी ४० स्तम्भमध्ये ११ फेला नपरेको उनले बताए ।
काठको खम्बा जंगे पिल्लर
नेपालको पश्चिमी सीमा एउटा काठको खम्बा (पिल्लर) ले विभाजित छ ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिकै भारतीय पक्षले एउटा काठको पिल्लरलाई सीमा स्तम्भ मान्दछ । तर नेपाली पक्षले भने सो खम्बालाई सीमा मानेको छैन ।
सो क्षेत्रको सीमा स्तम्भ नम्बर ८१०/२ लाई शसस्त्र प्रहरीले हराएको सूचिमा उल्लेख गरेको छ । गुगल नक्सा अनुसार भारतले दाबी गरेको सो काठको खम्बा रहेको स्तम्भ भन्दा केही पश्चिम महाकाली नदीतिर देखाउने गरेको शसस्त्र प्रहरीका अधिकारी बताउँछन् ।
भारतीहरुले दाबी गरेको सीमाबाट केही पनि प्राकृतिक स्रोत उपभोग गर्न नदिएको स्थानीय बताउँछन् ।
‘तिहारमा यो खम्बा भन्दा केही परबाट माटो समेत ल्याउन दिएन।’ स्थानीय पार्वती तिरुवाले भनिन् । सीमा स्तम्भ नम्बर ८११ र ८१०/२ स्पष्ट नहुँदा सो क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गर्ने गरेको छ ।
१४.५६ हेक्टर जमीन भारतको कब्जा
जिल्लाको पश्चिमी–उत्तरी ब्रह्मदेव क्षेत्रको १४.५६ हेक्टर नेपाली भूमि भारतले कब्जा गरेको छ ।
शसस्त्र प्रहरीका अनुसार जिमुवादेखि खल्ला–मसेट्टी क्षेत्रको १४.५६ हेक्टर नेपाली भूभाग भारतले अतिक्रमण गरेको हो । यो मध्ये २.९ हेक्टर जलाशय क्षेत्रले ओगटेको छ ।
स्थानीयका अनुसार भारतले नेपालको बह्मदेव स्थित मन्दिर समेत आफ्नो दाबी गरेको छ ।