थारु बस्तीमा भित्रँदै ‘माघी’: कतै हर्ष, कतै बिलौना

विज्ञापन

Share post:

पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ।

आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमंगले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ।

विधिवत् रुपमा पुस २९ गतेबाट शुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै शुरु भइसकेको छ। माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ। यो पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्दछन्।

पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने प्रचलन रहेको थारु अगुवा पत्रकार विश्वराज पछलडंग्याले बताए। उनका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ। त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन्।

माघीको दिन ९माघ १ गते० बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का ९पैसा० लुटाउने प्रचलन रहेको छ। माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ। पर्वका अवसरमा थारु समुदायले आआफ्नो गाउँको बडघर ९अगुवा० र चौकीदारसमेत चयन गर्दछन्। त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्दछ।

थारु समुदायले माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाइरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ सो समुदायका मुक्तकमैयाको मुहारमा अभैm थुप्रै पीडा लुकेको देख्न सकिन्छ । कमैयामुक्ति घोषणाको २० वर्षको अवधिमा पनि मुक्तकमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा मुक्तकमैया माघी पर्वमा स्वछन्द रमाउन सकेका छैनन् । उनीहरुले अझै गाँसबासको समस्या झेलिरहेका छन् । अभावमा बाच्न बाध्य मुक्तकमैयाका लागि चाडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरु बताउँछन् ।

सरकारले ‘कमैयामुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्तकमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन। ‘जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रो लागि नल्याएपछि हामी विचल्लीमा परेका छौँ’, बाँके कोहलपुरका मुक्तकमैया सुरज थारुको गुनासो छ। तथ्यांकअनुसार, कैलालीमा ४४३, बर्दियामा ८०, बाँकेमा ३८, कञ्चनपुरमा ३७ मुक्तकमैया परिवारलाई पुनःस्थापना गर्न अझै बाँकी छन्। दाङमा भने सबै ५५५ मुक्तकमैया परिवारको पुनःस्थापना भइसकेको छ। दास प्रथाको रुपमा रहेको कमैया प्रथा २०५७ साल साउन २ गते अन्त्य भएको घोषणा गरिएको थियो। रासस

ताजा समाचार