ब्रह्मदेव–टनकपुर लिंक रोडः नेपालतिर निर्माण पुरा, भारतले अझै सुरु गरेन

Share post:

महेन्द्रनगर ।
भारतीय सीमावर्ती बजार टनकपुर जोड्ने कञ्चनपुरको ब्रह्मदेव लिंक रोड निर्माणको काम पुरा भएको छ ।

भीमदत्त नगरपालिका–१ भाँसीदेखि ब्रह्मदेव तथा सीमावर्ती भारतीय सहर टनकपुर जोड्ने लिंक रोडको नेपाली पक्षले गर्ने काम १२.२ किलोमिटर सडक निर्माणको काम पुरा भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । तर, भारतीय पक्षले गर्ने काम भने अझै सुरु भएको छैन ।

‘लिंक रोडको नेपाली पक्षले गर्ने काम पुरा पुगेको छ । हाल दोस्रो चरणको कालोपत्रे गर्ने काम सुरु भएको छ’, सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले भने, ‘कार्तिकमा नै काम सकिएको हो, सामान्य रोडमा पेन्टिङ गर्ने, वरपर बृक्षारोपण गर्ने काम मात्र बाँकी छ ।

’ पहिलो चरणमा २०७६ जेठमा सडकको बेस, सब–बेस र सामान्य कालोपत्रको काम भएपछि सडक सञ्चालनमा ल्याइएको थियो । महाकाली सन्धिअनुसार ब्रह्मदेव नजिक टनकपुर ब्यारेजदेखि भाँसीसम्म १३ दशमलव २ किलोमिटर सडक भारतीय पक्षले मात्र निर्माण गर्नुपर्ने हो ।

तर, लामो समयसम्म भारतीय पक्षले चासो नदिएपछि आर्थिक वर्ष २०७३÷०७४ देखि निर्माण सुरु गरेर नेपाली पक्षले १२.२ किलोमिटर सडक निर्माण गरेको छ । टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १.५ किलोमिटर सडक निर्माणको काम भारतीय पक्षले अझै सुरु गरेको छैन ।

आर्थिक वर्ष २०७३÷०७४ देखि निर्माण सुरु भएको यो रोड निर्माणको जिम्मा लामा राजेन्द्र जेभीले पाएको थियो । संघीय सरकारको २३ करोड ६७ लाख ४९ हजार (भ्याटसहित) को लगानीमा सडक निर्माण भएको हो ।

भाँसी–ब्रह्मदेव–टनकपुर जोड्ने लिंक रोडअन्तर्गत कानीकाटे–१, कानिकाटे–२, र तिलाचौर–तिलकेनी क्षेत्रमा गरी तीन वटा ठूला पुल निर्माण भएका छन् ।

नेपाली पक्ष नै जुट्दै

यस क्षेत्रको समृद्धिसँग जोडिएको भीमदत्त नगरपालिकाको यो रोडको प्रमुख उद्देश्य भारतीय सीमावर्ती सहर टनकपुरलाई ब्रह्मदेव, भाँसी तथा महेन्द्रनगरसँग जोड्नु हो ।

हाल यो रोडको भाँसीदेखि १२.२ किलोमिटर नेपाली पक्षले निर्माण सम्पन्न गरेको छ । ‘सो सडकले हालसम्म पनि ब्रह्मदेव जोड्न सकेको छैन । १२.२ किलोमिटर सडक दशगजा क्षेत्रसम्म मात्र पुगेको छ ।

त्यहाँबाट १.५ किलोमिटर भारतले बनाउने पर्ने हो’, जोशीले भने, ‘ब्रह्मदेवसम्म जोड्न नसके उक्त सडक बनेको कुनै औचित्य नै छैन ।’ भारतले निर्माण गर्नु पर्ने सडकमध्येको दशगजा क्षेत्र हुँदै ब्रह्मदेव जोड्ने १.५ किलोमिटर सडक निर्माणमा मौन रहँदा नेपाली पक्ष नै उक्त सडक निर्माणमा जुटेको हो ।

ब्रह्मदेव–टनकपुर जोड्नका लागि बनाइएको सडकले ब्रह्मदेवलाई पनि जोड्न नसकेपछि नेपाली भूमिबाट नै घुमाएर ब्रह्मदेवसम्म लिंक रोड जोडिने तयारी भइरहेको सडक डिभिजन महेन्द्रनगरले जनाएको छ ।

त्यसका लागि आठ करोड ६५ लाख बजेट समेत आएको छ । यद्यपी ब्रह्मदेवदेखि टनकपुर ब्यारेज जोड्ने सडकमा नेपाली पक्षलाई भारतले सडक निर्माण अवरोध सृजना गर्दै आएको छ । भारतले भने दशगजा क्षेत्रसम्म नै सडक निर्माण गरेको छ ।

ताजा समाचार