महेन्द्रनगर – नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन बुधबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । भीमदत्त नगरपालिकाले गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका भारतीयसहित तेस्रो मुलुकका नागरिकलाई स्वागत गरेको हो ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले नेपाल घुमेर फर्किएका र नेपाल घुम्न आएका पर्यटकलाई स्वागत र सम्मान गरिएको बताए । भ्रमण वर्ष सफल बनाउन भीमदत्त नगरपालिकाले पश्चिमी नाका गड्डाचौकीमा स्वागतद्वार निर्माण र महेन्द्रनगरमा पर्यटन सुचना केन्द्र स्थापना गरेको छ ।
गड्डाचौकीमा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टसहित प्रदेश सभा सदस्यत्रय महेश दत्त जोशी, प्रकाश रावल, मान बहादुृर सुनार, प्रतिनिधी सभा सदस्य डा. दीपक प्रकाश भट्टले पर्यटकलाई नेपाली ढाकाटोपी, फुलमाला र खादा ओढाएर मायाको चिनो उपहार दिएका थिए ।
भारत उत्तराखण्डका विधायक पुष्करसिंह धामी र विकल प्रसादलगायत एक जापानी नागरिक, एक इटालीयन नागरिक र तीन जर्मन नागरिकलाई प्रवेशद्वारमा सम्मान गरिएको हो ।
उनीहरुलाई सुदूरपश्चिमको मौलिक परिकार ख्वाइएको थियो । उत्तराखण्डका विधानसभा सदस्य धामीले नेपाल भ्रमण वर्ष सफलताको शुभकामना दिए ।