महेन्द्रनगर ।
नेपाल भारत सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीस्तरमा वार्ता तथा छलफल हुनु पर्नेमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले जोड दिएका छन् ।
बिहिवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सांसद समेत रहेका नेता बडूले नेपाली भूभाग कालापानी, लिपुलेकमा भारतको अतिक्रमण विवाद हटाउनका लागि प्रधानमन्त्रीस्तरमा वार्ता हुनु पर्नेमा जोड दिए ।
‘कालापानी, लिपुलेकको विवाद अगाडि नै टुङग्याउनु प-थ्यो तर विविध कारणले सकिएन । अहिले दुई तिहाइको सरकार छ, सबै राजनीतिक दलहरुको साथ समर्थन छ । यो विषय टुङग्याउनु पर्छ । यसका लागि यो समय महत्वपूर्ण हो ।’ उनले भने, ‘यो समस्या प्रावधिक, परराष्ट्रमन्त्रीले गरेन हुदैन, प्रधानमन्त्रीस्तरमा वार्ता तथा छलफल गरेर विवाद टुङग्याउनु पर्छ ।’
सीमा अतिक्रमणका विषयमा हाल शीतिलता आएको उनले उल्लेख गरे । यस्तै वर्तमान सरकार आफ्नै गलत कार्यहरुका कारण संकट उन्मुख रहेको टिप्पुणी गरे ।
‘वर्तमान सरकार आफैमा अल्मलिएको छ, दुई तिहाइको बहुमत त पायो तर सरकारले गन्तव्य पहिचान गर्न सकेको छैन ।’ उनले भने, ‘कतिपय विधेयक संविधान विपरित आएका छन् । हामी त्यसको सधै विरुद्धमा छौँ ।’
दुई तिहाईको दम्भमा न्यायलयदेखि सबै संयन्त्रलाई नियन्त्रणमा लिई एक व्यक्ति हाबी हुन खोजिरहेको उल्लेख गर्दै नेता बडूले यसको विरोध गर्नु पर्ने धारणा राखे ।
‘विभिन्न विधेयकहरु ल्याएर अधिकारहरु कुण्ठित गर्न खोजिएको छ । यसको हामी सधै विरोध गर्छौ । जबरजस्ती लाद्न खोजिएका संविधान विपरितका कार्यहरुमाथि हामी अंकुश लगाउँछौँ ।’
नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री समेत रहेका नेता बडूले वर्तमान सरकारले सभामुख चयन गर्न नसकेर संसद नै बन्द हुने स्थित सृजना आएको बताए ।
‘बेला बेलामा संसद बैठक सर्दै गएको छ । सभामुख चयन गर्न सकेको छैन । यसरी त संसद नै बन्द हुने स्थिती नआउन भन्न सकिदैन ।’ उनले भने, ‘सभाममुख र उपसभामुख फरक/फरक पार्टीका हुनु पर्ने हाम्रो माग हो ।’
एक फरक प्रसंगमा नेता बडूले महाधिवेशन पछि नेपाली कांग्रेस एकजुट भएर सुसंगठित रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
‘महाधिवेशनमा जुटेका छौँ, यसले हामीलाई एकजुट भएर अगाडि बढ्न सहयोग गर्छ । अगामी चुनावमा सफलता हासिल गर्न टेवा पुग्छ ।’उनले भने ।