महेन्द्रनगर ।
मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गएको पर्यटकीय गन्तव्य एसियाको दोस्रो लामो दोधारा– चाँदनी झोलुङ्गे पुलमा मर्मत, सम्भारको काम सम्पन्न भएको छ ।
महाकाली पारीको दोधारा– चाँदनीलाई कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म जोड्ने दोधारा– चाँदनी झोलुङ्गे पुल जीर्ण हुँदै गएपछि मंसिर २१ गतेदेखि मर्मत, सम्भारको सुरु भएको थियो ।
सुुदूरपश्चिम प्रदेश सरकार मातहातको जिल्ला पूर्वाधार विकास कार्यालय कैलालीको ४९ लाख ५० हजार (भ्याट बाहेक) लगानीमा पुलको मर्मत कार्य भएको हो ।
यो पनिः ४९ लाखको लगानीमा दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत–सम्भार हुदै
मंसिर २१ गतेदेखि सुरु भएको पुल मर्मत, सम्भारको काम अन्तर्गत दुई सय ८८ स्टिल डेक फेरिएको मर्मतको जिम्मा पाएको खाम्पाचे/देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स जेभी अमरगढी डडेल्धुराका प्रोप्राइटर डम्बरदत्त भट्टले दैनिक सञ्चारलाई बताए ।
उनका अनुसार पुलका १२ सेक्सनका सम्पूर्ण नटबोल्ट कसिएका छन् । यस्तै ६० वटा आइ बोल्ट फेरिएको तथा सस्पेन्डर सम्याइएको र सोसंग सम्बन्धित अन्य मर्मतको कार्य समेत सम्पन्न भएको उनले बताए ।
मंसिर २१ देखि सुरु भएको मर्मतको काम २५ दिनमा सम्पन्न भएको थियो । पुल मर्मतको कामलाई टिबिएसयू/हेल्भेटास, सेवक नेपाल नेपालगञ्ज कलस्टर कार्यालय र जिल्ला पूर्वाधार कार्यालय कैलालीको प्रावधिक टिम, सुदूरपशिच प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा लगायत सम्बन्धित स्थानीय तहको टोलीहरुले निरीक्षण समेत गरेका थिए ।
विसं २०६१ मा निर्माण गरिएको एक हजार चार ५६ मिटर लम्बाई तथा १.५ मिटर चौडाई रहेको पुलको मर्मत सम्भारमा ध्यान नदिँदा पुल जीर्ण बन्दै गएको थियो ।
पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका थिए भने कति त चोरी भएका थिए । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था थिए । सो तारजाली पनि फेरिएका छन् ।
हाल भने पुलको मर्मत सम्पन्न भएपछि यात्रुहरुलाई आवातजावत गर्न सहज भएको प्रतिक्रिया जाहेर गरेका छन् । यस अघि पुल मर्मत, सम्भारको अभावमा जीर्ण बन्दै गए पछि जोखिम मोलेर स्थानीयहरु आवातजावत गर्न बाध्य थिए ।