महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले तत्कालिन जिल्ला विकास कोषको ७ करोड ६० लाख रुपयाँ नौ वटै स्थानीय तहलाई विनियोजन गरेको छ ।
जिल्ला समन्वय समितिले तत्कालिन जिल्ला विकास कोष सञ्चालन निर्देशिका अनुसार कञ्चनपुरका नौ वटै स्थानीय तहलाई बजेट विनियोजन गरेको हो । तर स्थानीय तहलाई विनियोजन गरिएको सो रकमबाट जिल्लाका अधिकाँस स्थानीय तहले रकम माग गरेका छैनन् ।
निर्देशिका अनुसार तत्कालिन जिल्ला विकास कोषलाई भौतिक संरचना तथा पूर्वाधार निर्माणका लागि स्थानीय तहलाई बजेट वितरण गर्नु पर्ने व्यवस्था गरिएको छ ।
सोहि बमोजिम जिल्ला समन्वय समितिले पनि गत चैत्रमा जिल्लाका ७ नगरपालिका तथा २ गाँउपालिकालाई योजना माग गर्न प्रस्ताव पठाएको थियो ।
उक्त प्रस्ताव अनुसार शुक्लाफाँटा नगरपालिका, बेलाडाँडी र लालझाँडी गाँउपालिका बाहेक अन्य स्थानीय तहबाट निर्देशिका बमोजिम योजना माग नभएको जिल्ला समन्वय समितिका लेखापाल डम्बर बहादुर ऐरले बताए ।
‘स्थानीय तहले आफुले बनाउन चाहेको योजनाको अनुमान लागत तयार गरि निर्माण पक्षसँग ठेक्का सम्झौता गरेपछि मात्रै कोषको बजेट निकासा हुन्छ ।’ उनले भने ।
‘हामीले निर्देशिका टेकेर काम गर्ने हो, निर्देशिका अनुसार स्थानीय तहबाट योजना माग भएको छैन ।’ लेखापाल ऐरले भने ‘यस कोषको रकम भौतिक पूर्वाधार निर्माणमा मात्रै खर्च गर्न पाइन्छ, त्यसका लागि स्थानीय तहले योजना निर्माणका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेर जिल्ला समन्वय समितिमा फाइल पेश गर्नु पर्छ ।’
स्थानीय तहले माग गरेको योजनाको निर्माण पक्षसँग ठेक्का सम्झौता गरेमा ७० प्रतिशत बजेट निकास गरिने तथा बाँकी रकम योजना सम्पन्न भएपछि भुक्तानी गरिने लेखापाल ऐरले जानकारी दिए ।
साथै योजनाका लागि अपुग बजेट सम्बन्धित स्थानीय तहले नै व्यहोर्नु पर्ने निर्देशिकामा उल्लेख रहेको छ । तत्कालिन जिल्ला विकास समिति कोषको १४ करोड रकममध्ये, ७ करोड ६० लाख रुपैयाँ स्थानीय तहलाई दिने कार्यक्रम व्यवस्थापन समितिले निर्णय गरेकोे थियो ।
जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहेको समितिले भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाले समान ९०/९० लाख बजेट पाएका छन् भने शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई ८५/८५ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै माहाकाली नगरपालिकालाई ८० लाख तथा लालझाँडी र बेलडाँडी गाँउपालिकालाई समान ७५ लाख रुपैया विनियोजन गरिएको जिसस कञ्चनपुरले जनाएको छ ।
बेलडाँडी गाँउपालिकाले वडा कार्यालय भवन निर्माण, शुक्लाफाँटा नगरपालिकाले वडा नम्वर १ र ११ को वडा कार्यालय भवन निर्माण, लालझाँडी गाउँपालिकाले वडा नम्वर २ र ३ को वडा भवन निर्माण र ६ नम्वर वडाको रामेश्वर प्राथमिक विद्यालयको लागि बजेट माग गरेको लेखापाल ऐरले बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले स्थानीय तहका योजनाको प्रस्ताव आउने क्रममा रहेको जानकारी दिए । उनका अनुसार कोष बजेट ढिलाई भए पनि फ्रिज नहुने भएकोले ढिलासुस्ती भएको हुनसक्ने बताए ।
बगैँचा निर्माणमा लाखौँ खर्च
जिल्ला समन्वय समिति कञ्चनपुरले मर्मत कार्यमै लाखौँ खर्च गरेको छ ।
समन्वय समितिले सामान्य संरचना निर्माण तथा मर्मत कार्यमै लाखौँ रकम खर्च गरेको पाइएको हो ।
समितिले कार्यालय अगाडि रहेको सानो बगैँचा निर्माणमा ४ लाख ७९ हजार र कर्मचारी बस्ने क्वाटर मर्मतमा ४ लाख ८७ हजार खर्च गरेको छ ।
त्यस्तै समितिले मर्मत गरिरहेको हलका लागि २६ लाख ४३ हजार ८ सय २८ रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिका लेखापाल डम्बर बहादुर ऐरले बताए ।