डाक्टरको लापरबाहीः एकैरातमा ३ शिशुको मृत्यु

Share post:

सिरहा । लहानस्थित सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले ३ सुत्केरीले शिशु गुमाएका छन् । शल्यक्रियामा संलग्न डाक्टरले लापरबाही गर्दा शिशुको ज्यान गएको पीडितहरूको आरोप छ । शिशुको मृत्युपछि पीडितका आफन्तले कारबाही माग गरेका छन् ।

शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए ।

शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया भयो तर कसैको पनि शिशु बाँचेन । शल्यक्रियामा डाक्टरको लापरबाही भएको पीडितका आफन्तको आरोप छ ।

डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीले जानकारी दिए । उपचारका क्रममा डाक्टरको लापरबाही नदेखिएको उनको दाबी छ । घटनाबारे पीडित परिवारसँग छलफल भइरहेको उनले बताए ।

‘बच्चा र सुत्केरी दुवैको अवस्था खराब देखिँदा आमालाई बचाएको अस्पतालले जानकारी गराएको छ,’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ छानबिनपश्चात् दोषीमाथि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

ताजा समाचार