महाकाली अस्पताल: ४ महिनामा ३ सय बिरामी रेफर भएर गए, ४० आए

Share post:

महेन्द्रनगर ।
महेन्द्रनगरस्थित महाकाली अस्पताल ‘रेफर सेन्टर’का नामले समेत चिनिन्छ । अस्पतालबाट चालु आर्थिक वर्ष ०७६/०७७ को पहिलो चौमासिकमा ३ सय ४ जना रेफर भएका छन् ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा अस्पतालमा उपचार सम्भव नभए पछि सिकिस्त २ सय ५३ बिरामी रेफर भएका छन् ।

चार महिनाको अवधिमा अस्पतालमा भर्ना भएर केही दिन उपचार पछि ५१ जना बिरामी रेफर गरिएको महाकाली अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर नारद भट्टले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अस्पतालबाट इमेर्जेन्सी, भर्ना बिरामी गरी जम्मा ३ सय ४ जना बिरामी अन्यत्र रेफर भएका छन् । यद्यपी रेफर हुने बिरामीको संख्या भने अन्य वर्षको तुलनामा घटिरहेको उनले बताए ।

यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को चार महिनाको अवधिमा ४० जना बिरामी अन्य अस्पताल तथा मेडिकलबाट रेफर भएर महाकाली अस्पताल आएका छन् ।

‘२ वर्ष अगाडिदेखि निरन्तर महाकाली अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टर हरी कुमार श्रेष्ठ आएपछि विभिन्न अस्पताल तथा मेडिकलबाट बिरामी रेफर भई यो अस्पताल आउनेको संख्या बढेको छ ।’ मेडिकल रेकर्डर सुपरभाइजर भट्टले भने ।

त्यस्तै गत आर्थिक वर्ष २०७५/०७६ मा ११ सय ४ जना बिरामी महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको उनले बताए ।

अस्पतालमा उपचार सम्भव नहुदा अन्यत्र रेफर गर्ने गरिन्छ । उपलब्ध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सिकिस्त ८ सय ४२ मध्ये ३ सय ३३ महिला र ५ सय ९ पुरुष रेफर भएका थिए ।

अस्पतालमा भर्ना गरी उपचार सम्भव नभए पछि २ सय ६२ बिरामी रेफर भएका थिए । यस्तै गत आर्थिक वर्षमा अन्य अस्पताल तथा मेडिकलबाट ९३ जना बिरामी महाकाली अस्पतालमा रेफर भई आएका थिए ।

ताजा समाचार