महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालले दिने भनेको ‘आईसीयू’ सेवा आफंै ‘आईसीयू’मा भर्ना भएजस्तै भएको छ । अर्थात् आईसीयू सेवा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् ।
झण्डै पाँच वर्ष अगाडि नै ‘आईसीयू’का उपकरणहरू जडान गरिए पनि सेवा सुरु हुन नसेको हो । ‘आईसीयू’ सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए ।
‘जनशक्ति नै छैनन् , मेसिनहरु जडान भएका छन् ।’ उनले भने, ‘जनशक्ति नहुँदा आइसीयु सञ्चालनमा ल्याउन सकिएको छैन ।’ दक्ष जनशक्ति भएमा तुरुन्तै ‘आईसीयू’ सञ्चालन गर्न सकिने देखिएको छ । आईसीयू सञ्चालनका लागि फिजिसियन, एनएस थेसियन एक/एक जना, बाल रोग विशेषज्ञ र केही नर्स आवश्यक पर्छन् ।
तीन जना डाक्टर थपिए
महाकाली अस्पतालमा नयाँ तीन जना डाक्टर थपिएका छन् । समायोजन भएर महाकाली अस्पतालमा तीन जना बिशेषज्ञ डाक्टर आएको सूचना अधिकारी अवस्थीले बताए ।
उनका अनुसार एमडिजिपी दुई जना र हाडजोर्नी सम्बन्धि एक जना गरी तीन जना विशेषज्ञ डाक्टर आएका हुन । एमडिजिपीमा अर्जुन भट्ट र ग्रिस अवस्थी तथा हाडजोर्नीमा दुर्गेश चौधरी आएका छन् ।
यस्तै हरिकृष्ण श्रेष्ठ महिला तथा स्त्री रोग विशेषज्ञका रुपमा अस्पतालमा कार्यरत छन् । समायोजनले केही समय अस्पतालमा डाक्टर रितिएका थिए । ‘अहिले अस्पतालमा डाक्टरहरु आएका छन् ।’ सूचना अधिकारी अवस्थीले भने, ‘मेडिकल अवसर सहित हाल अस्पतालमा १३ जनाको टिम छ ।’ सरकारले महाकाली अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन सकेको छैन ।
सूचना अधिकारी अवस्थीका अनुसार हाल अस्पतालमा ३ जना विशेषज्ञ डाक्टर मात्र छन् । यद्यपि उक्त अस्पतालका लागि २७ डाक्टरको दरबन्दी छ । जसमा १९ जना भने विशेषज्ञ डाक्टर पर्छन् । विशेषज्ञ डाक्टर नहँुदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन । दरबन्दीअनुसार डाक्टर नहुँदा एउटै डाक्टरले विभिन्न रोगका बिरामीलाई हेर्नुपर्ने अवस्था छ ।
४ महिनामा ३ सय बिरामी रेफर
महाकाली अस्पताल ‘रेफर सेन्टर’का नामले समेत चिनिन्छ । अस्पतालबाट चालु आर्थिक वर्ष ०७६÷०७७ को पहिलो चौमासिकमा ३ सय ४ जना रेफर भएका छन् ।
तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा अस्पतालमा उपचार सम्भव नभए पछि सिकिस्त २ सय ५३ बिरामी रेफर भएका छन् । चार महिनाको अवधिमा अस्पतालमा भर्ना भएर केही दिन उपचार पछि ५१ जना बिरामी रेफर गरिएको महाकाली अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर नारद भट्टले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अस्पतालबाट इमेर्जेन्सी, भर्ना बिरामी गरी जम्मा ३ सय ४ जना बिरामी अन्यत्र रेफर भएका छन् ।
यद्यपी रेफर हुने बिरामीको संख्या भने अन्य वर्षको तुलनामा घटिरहेको उनले बताए । यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को चार महिनाको अवधिमा ४० जना बिरामी अन्य अस्पताल तथा मेडिकलबाट रेफर भएर महाकाली अस्पताल आएका छन् ।
‘२ वर्ष अगाडिदेखि निरन्तर महाकाली अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टर हरी कुमार श्रेष्ठ आएपछि विभिन्न अस्पताल तथा मेडिकलबाट बिरामी रेफर भई यो अस्पताल आउनेको संख्या बढेको छ ।’ मेडिकल रेकर्डर सुपरभाइजर भट्टले भने ।
त्यस्तै गत आर्थिक वर्ष २०७५/०७६ मा ११ सय ४ जना बिरामी महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको उनले बताए । अस्पतालमा उपचार सम्भव नहुदा अन्यत्र रेफर गर्ने गरिन्छ ।
उपलब्ध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सिकिस्त ८ सय ४२ मध्ये ३ सय ३३ महिला र ५ सय ९ पुरुष रेफर भएका थिए । अस्पतालमा भर्ना गरी उपचार सम्भव नभए पछि २ सय ६२ बिरामी रेफर भएका थिए । यस्तै गत आर्थिक वर्षमा अन्य अस्पताल तथा मेडिकलबाट ९३ जना बिरामी महाकाली अस्पतालमा रेफर भई आएका थिए ।