कञ्चनपुरमा अवैध काठसहित सामुदायिक वनका उपाध्यक्ष पक्राउ, अध्यक्ष फरार

Share post:

महेन्द्रनगर । सेक्टर वन कार्यालय वाणीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाट अवैध काठसहित मंगलबार राति दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ट रहेका छन् ।

वनका अध्यक्षको खोजी भइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको सेक्टर वन कार्यालयकी प्रमुख सलिना कडालले बताइन् ।

सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई राति २ बजे पक्राउ गरेको हो ।

फर्निचर उद्योगमा राखिएको ३५ क्युविक फुट काठ बरामद गरिएको छ ।

बरामद काठका तीनवटा गोलियाको लम्बाई ७ फुट रहेको वन कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

ताजा समाचार