महेन्द्रनगर ।
कञ्चनपुरमा सिकल सेल रोगका बारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा रोगको बारे जानकारी दिने उद्देश्यले स्वास्थ्य कार्यालय कञ्चनपुरले अभिमुखिकरण तथा पैरवी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पहिलो चरणमा ग्रामीण क्षेत्रका मानिसहरुलाई सिकल सेल रोगका बारेमा जानकारी दिने उद्देश्यले पैरवी कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी गौर सिह कार्कीले बताए ।
‘सिकल सेलको बारेमा जानकारी दिन पैरवी छलफल कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनले भने, ‘यो पहिलो चरणको कार्यक्रम हो, यस पछि हामी क्याम्प नै सञ्चालन गरी रोगको जाँच गर्ने छौँ ।’
उनका अनुसार पहिलो चरणमा जिल्लाको पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकामा सिकल सेल रोग सम्बन्धि सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
पहिलो चरणको अभिमुखिकरण कार्यक्रम पश्चात् जिल्लाका थारुवस्तीमा क्याम्प सञ्चालन गरेर रोग जाँच गरिने छ । सिकल सेल रोग हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ । तर धेरै संख्यामा थारूहरूमा देखिएको छ ।
सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो । हाम्रो रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जीन हुन्छ । जीन धेरै प्रकारका हुन्छन् ।
तिनमा खराबी आयो भने सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुबैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग हो ।
रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ र त्यसले गाह्रो हुन्छ ।
त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ । यसले गर्दा लिभर बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवम् एक आपसमा टाँसिने हुन्छ ।
त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ ।
स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतया सेलको आयु १२० दिनको हुन्छ तर सिकल भएको हँसिया आकारको सेल २१/२२ दिनको हुन्छ ।
त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ । सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षणहरू देखिन्छन् ।