महेन्द्रनगर । कञ्चनपुर र कैलालीमा सडक तथा पुल निर्माणको काममा ढिला सुस्ती गर्ने निर्माण कम्पनीहरु कारबाहीमा परेका छन् । सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरले सडक तथा पुल निर्माणमा ढिला सुस्ती गर्ने ११ निर्माण कम्पनीहरुलाई कारबाही गरेको छ ।
कञ्चनपुर–कैलालीका विभिन्न ठाउँमा पुल तथा सडक निर्माणको जिम्मेवारी पाएका कम्पनीहरुले तोकिएको समयमा काम सम्पन्न नगरे पछि उनिहरुलाई सडक डिभिजन कार्यालयले कारबाहीको दायरामा ल्याएको हो ।
गत आर्थिक वर्ष २०७५/०७६ मा सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ११ निर्माण व्यवसायीहरु कारबाहीमा परेको सडक डिभिजन कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।
‘गत वर्ष पुल तथा सडक निर्माणमा ढिलासुस्ती गर्ने ११ कम्पनी कारबाहीको दायरामा आएका छन् ।’ उनले भने, ‘तोकिएको समयमा काम नगर्नेलाई जरिवाना भराइएको छ ।’
निर्माण ठेक्का लिएर तोकिएको समयावधीमा काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना असुल गरेर कारबाहीको दायरामा ल्याइएको उनले बताए ।
गत आर्थिक वर्ष २०७५/०७६ मा सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरले निर्माण ठेक्का लिएर विभिन्न बहाना बनाएर तोकिएको समयावधिमा काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर जरिवानाबापत करोडौँ राजश्व संकलन गरेको छ ।
ठेक्का सम्झौता भए पछि तोकिएको समय सीमामा निर्माणको काम सम्पन्न गर्नु पर्ने हुन्छ । निर्धारित समयावधिमा पुल तथा सडक निर्माणको केही अवरोध सृजना भएमा सोको व्यहोरा सडक डिभिजनलाई जानकारी गराउनु पर्ने हुन्छ ।
यदि सो अवरोधको कारण वा विवरण सत्य, सावित भएमा अवरोध भएको अवधि थप गरी निर्माणको समयावधि लम्ब्याउने व्यवस्था छ ।
‘यदि थप गरिएको म्यादमा पनि निर्माण सम्पन्न नभएमा ठेक्का सम्झौताको ०.०५ प्रतिशत प्रत्येक दिन जरिवाना लाग्छ ।’ सूचना अधिकारी जोशीले भने ।
जरिवाना पर्ने निर्माण कम्पनी
गत आर्थिक वर्ष २०७५/०७६ मा कञ्चनपुर–कैलालीमा ठेक्का सम्झौता पछि तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ११ निर्माण व्यवसायी लाखौँ जरिवानामा परे ।
सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५/०७७ मा सबैभन्दा बढि जरिवानामा राजेन्द्र केएस आशिष जेभी परेको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत गोदावरी–फल्टुडे सडकखण्डको गोदावरीदेखि अगाडि ६८ किलोमिटर सडक मर्मतको जिम्मा पाएको राजेन्द्र केएस आशिष जेभीले तोकिएको समयावधिमा काम सम्पन्न नगरे पछि ६२ लाख ९३ हजार ९ सय ९१ जरिवाना बेहोरेको छ ।
यस्तै थेगिम गल्वा जेभी ४८ लाख ४१ हजार एक सय ३६ रुपियाँ जरिवानामा प-यो । कञ्चनपुरको ओदाल खोला पुल निर्माणको जिम्मा पाएको थेगिम गल्वा जेभीले पुल निर्माणमा विभिन्न बहाना झिकेर ढिलासुस्ती गरेपछि सो कारबाहीमा हो ।
कैलालीस्थित सन्तोषी टोल खोलामा पुल निर्माणको जिम्मा पाएको थेगिम रोयल साउन जेभीले निर्माणमा ढिलासुस्ती गरेको भन्दै ३९ लाख ९९ हजार ७ सय ४८ रुपैयाँ जरिवाना तिराएर कारबाहीको दायरामा ल्याइएको सडक डिभिजनले जनाएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित बसाइ फटैया सडकको जिम्मा पाएको केएस टेडी जेभी सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै १९ लाख २६ हजार ३७ रुपियाँ जरिवानामा प-यो । यस्तै निर्माणको काममा ढिलासुस्ती गर्ने उचाकोटी निर्माण सेवाले १४ लाख ७० हजार ४ सय १४ जरिवाना तिरेको छ ।
उचाकोटी निर्माण सेवाले कञ्चनपुरको महाकाली नगरपालिकको दोधारा–चाँदनीमा इन्द्रावन सामुदायिक–पिपलचौतारीे निर्माणको जिम्मा पाएको थियो ।
कैलालीको खगोरी खोलामा पुल निर्माणको काममा ढिलासुस्ती गर्ने जागृती निर्माण सेवा ८ लाख ४३ हजार ५ सय २ जरिवाना तिरेर कारबाहीको दायरामा आएको हो ।
सडक डिभिजन महेन्द्रनगरका अनुसार महाकाली राजमार्ग अन्तर्गत अत्तरिया–गोदावरी सडक मर्मतमा ढिलाइ गर्ने भौनेली निर्माण सेवा ७ लाख ८५ हजार १३, चिसापानी–मंगलसेन सडकखण्डमा ढिलाइ गर्ने आरबी कन्स्ट्रक्सन ६ लाख ५५ हजार ५ सय ३३ र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा (पेन्टिङ) मा ढिलाइ गर्ने दीप तामाकोशी कन्स्ट्रक्सन एक लाख ६९ हजार ३ सय ६४ रुपैयाँ जरिवानामा परेका थिए ।
यस्तै कैलालीको फुलवारी खोला पुल निर्माणको जिम्मा पाएको रोयल उचाकोटी साजेन्द्रश्वर जेभीले समयमा काम सम्पन्न नगर्दा एक लाख ६ हजार ९ सय ९१ तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पुनः निर्माणको काममा ढिलाई गर्ने डुङगा घोल्डाङी निर्माण सेवा ३८ हजार ९ सय ८६ रुपैयाँ जरिवानामा परे ।