बैतडीमा निसास्सिएर बाबु र छोराको मृत्यु

Share post:

बैतडी — बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत फेला परेका छन् । बिहीबार साँझ खाना खाएरसँगै सुतेका उनीहरु शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

५८ वर्षीय बालीराम सार्की, उनका ५ वर्षीय छोरा नवीन र १० वर्षीया छोरी आरती एकै कोठामा सुतेका थिए । मृतककी श्रीमती र अन्य साना छोरीहरु नजिकै रहेको अर्को घरमा सुतेका थिए । आरती भने बेहोस अवस्थामा भेटिएकी थिइन् । नजिकैको शर्माली स्वास्थ्यचौकीमा उपचारपछि उनी होसमा आएकी छन् ।

मृतकको शव पोस्टमार्टमका लागि मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटना कसरी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए ।

उनका अनुसार उनीहरु सुतेको कोठामा झ्यालहरु थिएनन् । ढोकामा पनि कपडाले हावा छिर्न नदिएर सुतेका थिए । निसास्सिएर उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

ताजा समाचार