भोजपुर — सौतेनी आमासँग मिलेर एकजनाले वृद्ध बाबुको हत्या गरेका छन् । भोजपुर नगरपालिका–११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले ५६ वर्षीया कान्छी आमा कर्णशोभा राईसँग मिलेर ८८ वर्षीय बाबु दलबहादुर राईको हत्या गरेको प्रहरीले बताएको छ ।
कान्छी आमा कर्णशोभासँग अवैध सम्बन्धमा रहेका राईले गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या गरी सोही आम्तेकको टारबारीस्थित स्थानीय सोहन खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । अभियुक्त हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैयाँ दिएर दलबहादुरको शव डोकोमा हाली खोलामा फ्याँक्न लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।
गत असोज २५ गते सम्पर्क्विहीन भएका दलबहादुरको खोजी गर्ने क्रममा प्रहरीले उनको शव मंसिर १ गते स्थानीय शोहन खोलामा सडेको अवस्थामा फेला पारेको थियो । दसैंको टिका लगाउन दलबहादुर र उनकी कान्छी श्रीमती कर्णशोभा स्थानीय बाँसबोटे गएपछि दलबहादुर सम्पर्क्विहीन भएको प्रहरीको भनाई छ । त्यसको २ दिनपछि सम्पर्क्विहिन भएका राईको शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा हत्या भएको पुष्टिपछि अभियुक्त छोरा र आमालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दा हाली पुर्पक्षका लागि राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सन्तोष विक र नारायण विकलाई पनि कर्तव्य ज्यान मुद्दा अन्तर्गतको मतियार मुद्दा हाली पुर्पक्षका लागि राखिएको छ ।