आज पृथ्वीजयन्ती तथा एकता दिवस मनाइँदै

Share post:

काठमाडौं । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

विसं १७७९ मा गोरखामा जन्मिएका शाहले बाइसे र चौबीसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्रका रुपमा शाहको जन्म भएको थियो।

पृथ्वीनारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए।

विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएका थिए। १८०१ मा नुवाकोटमा विजयी भए। यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए।

विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो। अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरे। यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए।

शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए। यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले बताए। ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन्। जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा हाल कटौती गरिएपछि पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ।

पृथ्वीनारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुले देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ भने राष्ट्रिय एकताको सन्देश पनि दिन्छ। ुघुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्ु उनका यस्ता दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन्।

श्रोतरासस

ताजा समाचार