अछाममा १५ सय छाउगोठ भत्काइए

Share post:

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले छाउगोठ भत्काउने काम तीव्र पारेको छ । मासिक धर्मका बेला एकान्त ठाउँमा हुने यस्ता छाउगोठमा राख्दा महिलाहरुले ज्यान नै गुमाउने गरेका छन् । पछिल्लो पटक गृह मन्त्रालयले नै निर्देशन दिएपछि अछाम प्रहरीले १५ सय छाउगोठ भत्काइसकेको छ ।

प्रहरीले गएको १५ दिनमा करिब १ हजार ५ सय १८ गोठ भत्काएको प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार

साफेबगर नगरपालिकाका ३ सय ३३, कमलबजार नगरपालिकाका ५३,पन्चदेवल बिनायक नगरपालिकाका १ सय ४९, ढकारी गाउँपालिका ३ सय ६, तुर्माखाद गाउँपालिका ३ सय १०, मेल्लेख गाउँपालिकाका एक सय ९३, रामारोशन गाउँपालिकाका ८९, चौरपाटी गाउँपालिकाका ६५ र बान्निगढी जयगढ गाउँपालिकाका २० छाउगोठ भत्काइएको छ ।

स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरी प्रहरीले गोठहरु भत्काईरहेको छ । प्रहरीले अहिले जिल्लाभरका सबै छाउगोठको विवरण संकलन गरिसकेको छ । छाउगोठ भत्काईएपछी महिनावारी भएका महिलाहरु घरमा बस्न थालेका छन्‌ ।

छाउगोठ भत्काउन जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक भारती आफैं खट्ने गरेका छन्‌ । उनी बिहानदेखि राति अवेरसम्म छाउगोठ भत्काउन खटिइरहेका छन्। डीएसपी भारती शनिबार जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको बारला र लयाटी पुगी छाउगोठ भत्काएर फर्किएका छन्।

अछामलाई फागुन महिनाभित्र छाउपडी गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी अहिले छाउगोठ भत्काउने अभियान तीव्र पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । अछाममा छाउगोठमै अहिलेसम्म १४ जना महिलाले ज्यान गुमाएका छन ।

ताजा समाचार