दार्चुला । सुदूरपश्चिम प्रदेशका चार जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ।
बैतडीको पाटनमा सम्पन्न अन्तर समन्वय जिल्ला बैठकमा डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र चारै जिल्लाका सुरक्षा प्रमुखहरू सहभागिता रहेको थियो।
सीमा क्षेत्रमा निगरानी बढाइने
समन्वय बैठकले भारतसँग सीमा जोडिएका डडेल्धुरा, बैतडी र दार्चुलाको भारतसँग जोडिएका सीमा क्षेत्रमा निगरानी बढाउने निर्णय गरेको छ।
भारतले नेपाली सीमाबाट आतंककारी भारत घुसपैठ हुन सक्ने बताउँदै आएका बेला चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूको बैठकले यो क्षेत्रमा सुरक्षा नियमन गर्न आधार निर्माण गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल बताए।
बझाङमा छाउ गोठको तथ्यांक लिइने
साथै बैठकले बझाङमा रहेका छाउगोठको तथ्यांक लिई त्यसबिरुद्ध जनचेतना जगाउने काम गर्ने निर्णय पनि गरेको छ। सुदूरपश्चिम क्षेत्रलाई छाउगोठ रहेको क्षेत्रका रुपमा बदनाम गरिँदै आएका भए पनि चार जिल्लामध्ये बझाङका केही ठाउँमा मात्रै छाउगोठ रहेको पाइएको छ।
बझाङमा छाउगोठमा मृत्यु नै भएको जानकारी नआएको तर छाउगोठ रहेको सुनिन आएकोले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा त्यसकाबिरुद्ध अभियान चलाउने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन्।
दार्चुला, बैतडी र डडेल्धुरामा भने छाउगोठ नगरेको उनको भनाई छ। सबै जिल्लाको रिपोर्टिङ र वस्तुस्थितिको बारेमा छलफल गरेर हिउँदका बेला पटक पटक हुने सडक अबरोध, मदिरा व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचार नियमन र सुशासन कायम गर्न आवश्यक पर्ने सहकार्य, समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको बैतडीका प्रजिअ पौडेलले जानकारी दिए।