को बन्ला नेपालका लागी भारतीय राजदूत ?

विज्ञापन

Share post:

काठमाडौं । छिमेकी भारतले नेपालमा पठाउने राजदूत अझै तय गर्न सकेको छैन् । विगतमा विशेष परिस्थितिबाहेक ४/६ महिनापहिले राजदूतको विषयमा निर्णय गर्दै आएको थियो। यसपटक त्यस्तो विशेष परिस्थिति छैन।

विदेश मन्त्रालयमा नेपाल आउन चाहनेको सूची बढेकै कारण भारत सरकारले निर्णय लिन नसकेको दिल्लीस्थित कूटनीतिक स्रोतले दाबी गरेको छ। भारतीय कूटनीतिज्ञले नेपालको पोस्टिङलाई निकै महत्व र सम्मानको रूपमा लिने गर्छन्। राजनीतिज्ञले पनि नेपालमा विदेश मन्त्रालयका अनुभवी तथा वरिष्ठमध्येकै पठाउनुपर्ने ठान्दै आएका छन्।

विशेष मन्त्रालयको वरिष्ठ सहसचिवदेखि अतिरिक्त सचिवसम्मले यो पदमा आउन निकै जोडबल गरेको र पूर्वपरराष्ट्र सचिव नै विदेशमन्त्री रहेका कारण निर्णयमा ढिलाइ भएको हो।

‘प्रधानमन्त्री, विदेशमन्त्री र सुरक्षा सल्लाहकारका फरक(फरक चाहना हुँदा पनि ढिलो भएको हुन सक्छ’, दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘अब छिट्टै तय होला। युरोपमा काम गरिरहेका राजदूत नै नेपालमा आउलान्जस्तो छ।’

फ्रान्समा राजदूत रहेकालाई नेपाल पठाउने विषयमा छलफल भइरहेको भेउ नेपाली कूटनीतिज्ञले पाएका छन्।

‘यसपटक दिल्लीलाई निर्णय लिन धेरै समस्या परेको छ’, नेपाली कूटनीतिज्ञले सुनाए, ‘अन्यथा उनीहरू नेपालमा आउने व्यक्ति चयन गरिरहेका हुन्थे। एक जनाको नाम राजदूत फर्कनुअघि नै सिफारिस गरेका हुन्थे। अहिले कहिले कसको त कहिले कसको नाम आइरहेको छ। तर, वास्तविक नाम अझै सिफारिस भएको छैन।’

नेपाली मिडियामा पनि भावी भारतीय राजदूत भन्दै विभिन्न नाम आएका छन्। अखिलेश मिश्रा, गोपाल बाग्ले र जावेद अर्सद तीमध्ये केही नाम हुन्। ती सबै सहसचिव हुन्। उनीहरूभन्दा वरिष्ठले पनि यसमा दाबी गरेका थिए।

विदेश सचिवको दौडमा पछि परेका सचिव टीएस त्रिमूर्ति र अर्का सचिव विकास स्वरूपको पनि नाम चर्चामा छ। तर, अहिले फ्रान्सका राजदूत विनय मोहन क्वात्राको नाम बढी चर्चामा छ। सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा फ्रान्समा राजदूत छन्। उनी यसअघि सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्मा निर्देशकको रूपमा नेपालमा थिए। स्वरुप सन् १९८६ र त्रिमूर्ति १९८५ मा कूटनीतिक सेवा प्रवेश गरेका थिए। ब्रसेल्समा राजदूत रहेकै बेला पुरी नेपालको जिम्मेवारी लिएर आएका थिए।

सन् १०१५ देखि २०१७ सम्म काम गरी फ्रान्सको राजदूत भएका हुन्। राष्ट्रसंघका लागि जेनेभा र न्युयोर्क दुवै स्थान, चीन र अमेरिका काम गरिसकेका उनी अनुभवी कूटनीतिज्ञको रूपमा चिनिन्छन्। उनको नाम दिल्लीमा आएको र उनी नै राजदूत भएर आउने अधिकारीले बताए।

‘भारतले नेपालमा विशेष परिस्थितिबाहेक राजदूत खाली गरेको छैन’, पूर्व परराष्ट्रसचिव डा.मदनकुमार भट्टराईले भने, ‘सन् १९६४ मा राजदूत रहेका हरिश्वार दयाल नाम्चे यात्रामा हाई अल्टिच्युटले निधन भएपछि तीन महिना राजदूतविहीन बनेको थियो, लैनचौर।’ त्यसपछि सामान्य ढिलाइ भए पनि नाम भने आउने गरेको उनको अनुभव छ। दयालको निधन भएपछि प्रक्रिया अघि बढाउँदा तीन महिनापछि श्रीमन् नारायण राजदूतको रूपमा आएका थिए। नेहरुका विश्वास पात्रा दयाल उनैसँग सिधा सम्पर्क गर्ने कूटनीतिज्ञ थिए। १०र१२ दिनको ग्याप त हुने गरेको थियो।

राजदूत नारायण फर्केपछि अर्का राजदूत राजबहादुर आउन दुई साता बढी समय लागे पनि नाम पहिले नै पक्का भएको थियो। सन् १९७६ मा एम रसगोत्रा फर्केको ४२ दिनपछि एनबी मेनन् राजदूको रुपमा आएका थिए। पहिले पनि केही समय ‘ग्याप’ भए पनि नाम तय भइसहेको हुन्थ्यो।

सन् १९८२ को जुलाईमा एनपी जयन फर्केपछि एचसी सरिन आउन पनि ३१ दिन लागेको थियो। सन् १९९५ मा विमलप्रसाद फर्केको तीन महिनापछि मात्र केभी राजन राजदूतको रूपमा आएका थिए। सन् २००४ को जुलाईमा श्याम शरण फर्केपछि शिवशंकर मुखर्जी आउन पनि करिव तीन महिना लागेको थियो। रञ्जित रे फर्केको एक महिनापछि मञ्जिभसिंह पुरी आएका थिए। भारतीय दूतावासले भने यो विषयमा कुनै जानकारी नरहेको बताएको छ। परराष्ट्र मन्त्रालयले पनि अहिलेसम्म अग्रिमा (सहमति) का लागि कुनै नाम नआएको स्पष्ट पारेको छ।

नेपाल राम्ररी बुझेको र प्रधानमन्त्री कार्यालयसँग राम्रो सम्वन्य गर्न सक्ने व्यक्ति राजदूतको रूपमा आउन सक्ने भट्टराईले बताए। ‘उनीहरू हामीकोबाट झै जथाभावी गर्दैनन्। सबै विषय अध्ययन गरेर मात्र मानिस चयन गर्छन्’, पूर्वसचिव भट्टराईले भने, ‘हामीकोमा जस्तो राजदूत नियुक्तिको गाईजात्रा अन्य मुलुकमा हुँदैन।’

ताजा समाचार