वर्षाले कञ्चनपुरमा काँचो ईटा नष्ट, एकाएक मुल्य आकासियो

Share post:

महेन्द्रनगर ।
हिउँदे वर्षाले कञ्चनपुरको ईटा उद्योगमा क्षति भएको छ । वर्षाले लाखौंको संख्यामा काँचो ईटाहरू नष्ट भएका कारण क्षति भएको हो ।

वर्षाका कारण ईटा उत्पादन हुन नसकेकोले एकाएक मुल्य पनि आकासिएको छ । ‘कञ्चनपुरका हरेक इटा उद्योगमा १५ देखि २० लाख सम्म काँचो ईटा नोक्सान भएको छ’ महाकाली ईटा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष वलदेवसिंह बुडालले भने, ‘काचो ईटा मात्रै नष्ट भएको छैन, उद्योग नै ठप्प भएका छन् ।’

उनका अनुसार अहिले यहांँका भट्टामा ईटा नहुँदा अन्य निर्माण कार्य समेत प्रभावित भएको छ । कञ्चनपुरमा अनुमति पाएका ४० मध्ये ३७ वटा ईटा उद्योग सञ्चालनमा छन् ।

पटक पटकको वर्षाले भट्टामा लगाइएको आगो समेत निभेको छ । मंसिर अन्तिम साता आएको वर्षाले ठुलो संख्यामा काँचो ईटाहरू नष्ट गरेको थियो । यसै साताको वर्षाले फेरी क्षति गरेको बुडाल बताउछन् ।

काँचो ईटा निर्माणका लागि प्रति गोटाको १ रुपैयाँ ५० पैसा रुपैंयासम्म ज्याला पर्दछ । यसबाहेक माटो र ढुवानी समेत जोडदा ३ रुपैंया खर्च आउने गरेको व्यवसायीहरू बताउछन् ।

वर्षाका कारण नष्ट भएको काँचो ईटाको माटो कामै नलाग्ने भएपछि झनै क्षति हुने गरेको उनीहरू बताउछन् । ‘मंसिर र अहिलेको वर्षाले २२ लाख काँचो ईटा नष्ट भएको छ’ बेदकोट नगरपालिकामा रहेको केदार ईटा उद्योगका सञ्चालक नारद पाण्डेयले भने, ‘यसको मात्रै लागत खर्च ३५ लाख बढी हुन जान्छ ।’

उनका अनुसार अहिलसम्म एक लट ईटा पकाएर बिक्रि गर्नुपर्ने भएपनि हालसम्म भट्टा बन्द रहेको छ । बेदकोटमै रहेको भुवनेश्वरी ईटा उद्योगमा पनि ११ लाख बढी काँचो ईटा नष्ट भएका छन् ।

लामो समयसम्म उद्योग बन्द हुंँदा एकातिर ईटाको अभाव भएको छ । अर्कोतिर काँचो ईटा नष्ट भएपनि लागत समेत बढेको छ । मंसिरमा वर्षा हुनुभन्दा अघि सम्म प्रतिईटा १२ रुपैंयामा बिक्रि भईरहेको थियो भने अहिले बढेर १४/१५ रुपैंया पुगेको छ ।

‘अभावसँंगै लागत बढेकाले मुल्य बृद्धि भएको हो’ अध्यक्ष बुडालले भने, ‘मौसम नसुध्रिए फेरी मुल्य बढ्न सक्छ ।’ उनका अनुसार वर्षाले भिजेको भट्टामा कोइला र कामदार समेत बढी लाग्ने गरेको बताए ।

कैलाली र कञ्चनपुरका ईटा भट्टामा काम गर्ने अधिकांस भारतिय कामदार हुन्छन् । उनीहरूलाई विभिन्न ठाउँबाट यहांँ ल्याईको हुन्छ । लामो समय काम नचल्दा उनीहरू फर्केपछि कामदारको समेत अभाव हुने गरेको छ ।

हरेक ईटा उद्योगमा डेढ देखि दुई सय सम्म कामदारहरू प्रत्यक्ष रुपमा जोडिएका छन् । हरेक वर्ष हिउँदे वर्षाले ईटा उद्योगमा ठुलो नोक्सानी हुने गर्छ । यसको मार सिधै उपभोक्तामा पर्दछ ।

पकाएको ईटाको वीमा हुने गरेपनि काँचो ईटाको वीमा नहुंँदा व्यवसायीसंँगै उपभोक्ताले समेत यो मार खेप्नुपरेको हो ।

‘आगो लगाएर पकाउनुपर्छ तर पनि आगलागीको वीमा छ, जुन नोक्सान हुन्छ त्यसको वीमा छैन’ अध्यक्ष बुडाल भन्छन्, ‘पकाएको ईटा आगो र पानीबाट नोक्सान हुदैन, चोरी हुने सम्भावना पनि हुदैन तर त्यसकै वीमा हुन्छ ।’ उनले वर्षेनी वर्षाबाट हुने ठुलो क्षतिबाट जोगिने काँचो ईटाको वीमा हुनुपर्ने बताए ।

ताजा समाचार