काठमाडौं
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन्।
आवश्यक छलफलका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार बोलाइएकी तुम्बाहाङ्फेले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा नदिने बताएकी हुन्। उनले सभामुख पदमा आफूलाई निर्वाचित गर्ने सुनिश्चित नभएसम्म पद नछाड्ने जानकारी दुई अध्यक्षलाई गराएकी हुन्।
शुक्रबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराउने निर्णय गरेको थियो। तर तुम्बाहाङ्फेले राजीनामा नदिने बताएपछि बालुवाटार पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच आइतबार बिहान छलफल भइरहेको छ। यही मेसोमा शिवमायालाई पनि दुई अध्यक्षले बालुवाटार बोलाएका हुन्।
सभामुखको उम्मेदवारमा अड्किएको गाँठो फुकाउन प्रधानमन्त्री ओली र दाहाल करिब एक घण्टाअघिबाट छलफलमा जुटेका हुन्। ओली(दाहालको छलफलकै क्रममा उपसभामुख तम्बाहाङफे पनि बालुवाटरमा पुगेकी छन्। शनिबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो। तर, उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्णयबारे थाहा नभएको बताउँदै आजबाट प्रतिनिधि सभाको बैठकले निरन्तरता पाउने बताएकी थिइन्।
सभामुखमा दौडमा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र अग्नि सापकोटा छन्। संसदीय दलका उपनेता नेम्वाङको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन्। अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले उनी निकटका सापकोटालाई साथ दिएका छन्। पार्टीको निर्णयपछि पनि राजीनामा नदिने अडानमा रहेकी उपसभामुखको पक्षमा राष्ट्रिपति विद्यादेवी भण्डारीको साथ रहेको बताइएको छ।
त्रिपक्षीय लडाइँका कारण नेकपाले सभामुख चयन गर्न सकेको छैन। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि चार महिनादेखि संसद सभामुखविहीन बनेको छ।