दिलिपलाई ‘पर्यावरण’सहिद घोषणा गर्न माग

Share post:

जनकपुरधाम । प्रकृतिको असन्तुलित दोहनले पर्यावरणमा असन्तुलन पुग्ने काम रोक्ने क्रममा ज्यान गुमाएका युवालाई पर्यावरण सहिद घोषणा गर्न स्थानीयले माग गरेका छन्। पूर्व–पश्चिम राजमार्गको औरही गाउँ नै विनाश गर्ने गरी भएको उत्खनन् रोक्न जाँदा ज्यान गुमाएका दिलिप भनिने ओमप्रकाश महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गरिएको हो।

पटक–पटक खोलामा हुने अनियन्त्रित दोहन तथा समाजिक अभियानमार्फत पर्यावरणलाई जोगाउने अभियानमा उनले ज्यान गुमाउनु परेको चुरे मधेस विकास मञ्चका अध्यक्ष चन्द्रकिशोर यादवले बताए ‘स्वर्गीय दिलिपको सहादत आफ्नो लागि भएको होइन, पर्यावरणको दुस्मनसँग लड्ने क्रममा उनको हत्या भयो, त्यसैले उनलाई सरकारले सम्मानसहित पर्यावरण सहिद घोषणा गरोस्।’

यो पनिःअवैध खोला उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या

चुरे तथा वन जङगल अभियानका अभियन्ता सुनिलकुमार यादवलेसमेत यही माग गरेका छन्। ‘पर्यावरण हाम्रो लागि अमृत हो’, उनले भने, ‘त्यो अभियान रोक्ने क्रममा लिलिपको ज्यान गयो। उनलाई सम्मान स्वरुप पर्यावरण सहिद घोषणा गर्नुपर्छ।’

यो माग जायज भएको प्रदेश सांसद रामआशिष यादवले बताए। ‘पर्यावरण विषयलाई लिएर निर्मम तरिकाबाट हत्या गरिनु कायरता हो’, यादवले भने, ‘प्राकृतिक श्रोतको संरक्षणको आवाजलाई बन्द गर्न पुस्तौ–पुस्तासम्म स्मरणका लागिसमेत पर्यावरण सहिद घोषणा गनुपर्छ।’

ताजा समाचार