एक महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका १८ सय बढी छाउगोठ भत्काइयो

विज्ञापन

Share post:

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा गरी करिब ५ हजारको हाराहारीमा रहेका छाउगोठमध्ये सरकारले एक महिनाको अवधिमा १ हजार ८ सय छाउगोठ नष्ट गरेको छ ।

महिनावरी भएका महिलालाई गोठमा राख्ने प्रथाका रूपमा रहेको छाउपडीलाई सरकारले २६ वैशाख २०६३ को मन्त्रिपरिषद् बैठकमार्फत कुरीति घोषणा गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ ले समेत सो प्रथालाई कानुनी अपराधका रूपमा राखेपछि सरकार छाउपडीविरुद्ध झनै कठोर हुँदै आएको छ । संहिताले सामाजिक विभेद तथा अपमानजनक व्यवहार गर्न नहुने भनेको छ । महिलालाई छाउपडी गोठमा पठाउन बाध्य गराउनेलाई कानुनले समेत तीन महिना कैद र जरिमानाको व्यवस्था गरेको छ ।

पुसको पहिलो साता गृह मन्त्रालयले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी १९ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई छाउपडी अन्त्य गर्न सचेतना अभियान चलाउँदै छाउगोठ नष्ट गर्न निर्देशन गरेको थियो ।

मन्त्रालयले जुम्ला, कालीकोट, मुगु, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, सल्यान, सुर्खेत, रुकुम पश्चिम, बाजुरा, बझाङ, दार्चुला, अछाम, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

सरकारले करिब १ हजार ८ सयको हाराहारीमा छाउगोठ नष्ट गरिसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुरूप स्थानीय प्रशासनले समुदाय, स्थानीय तह र प्रहरीसमेतको सहयोगमा त्यस्ता छाउगोठविरुद्ध १९ वटै जिल्लामा अभियान नै चलाउँदै आएको छ ।

ताजा समाचार