महेन्द्रनगरमा अवैध संरचना निर्माण रोकिएन !

Share post:

महेन्द्रनगर ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिले लिजमा दिएको जमिनमा हाल कुनै पनि संरचना निर्माणमा रोक लगाइएको छ ।

अवैध लिजमा खडा गरिएका संरचना हालका लागि सोही अवस्थामा यथावत राखी नयाँ संरचना बनाउनमा रोक लगाइएको हो । तर अझै पनि राती राती संरचना निर्माण भइरहेको तथ्य खुलेको छ ।

यो पनिः अवैध लिज प्रकरण कहाँ पुग्यो ?

मालपोत नजिकैबाट केही समय अगाडि संरचना निर्माण गर्दै गर्दा ठेकेदार र कामदारलाइ नियन्त्रणमा लिइएको थियो ।

‘हामीले अहिले कुनै पनि संरचना निर्माण गर्न दिएका छैनौँ । यदि त्यस्तो भेटिएको भए कारबाहीको दायरामा ल्याएका छौँ ।’ सहायक जिल्ला अधिकारी गोकर्ण उपाध्यायले भने, ‘राती राती संरचना निर्माण भइरहेका छन् भन्ने सूचनालाई फ्लो गर्दै गएका छौँ, केही समय अगाडि मालपोत नजिकै त्यस्तो भेटिएको थियो । कामदार र ठेकेदारलाई नियन्त्रणमा लिएर अबदेखि नगर्ने सर्तमा छोडिएको थियो ।’

अवैध लिज प्रकरणबारे अदालतमा मुद्दा चलिरहेकोले संरचना हटाउने कार्य रोकिएको उनी बताउँछन् । ‘लिज प्रकरणबारे मुद्दा अदालतमा छ, फैसला भएको छैन्,’ उनले भने,‘अदालतको फैसला अनुसार जिल्ला प्रशासन कार्यालयले काम गर्छ ।’ उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासिनीले पनि फेरी रातीको समयमा अवैध संरचना निर्माणको सूचना आएकाले खोजीकार्य जारी रहेको बताए ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जमिनलाई अवैध लिजमा लिएकाहरुले सर्वोच्वमा रिट हालेर अन्तरिम आदेश लम्ब्याइ रहेको संयुक्त युवा विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

तत्कालिन नगर विकास समितिको जमिन लिजमा लिएकाहरुले मन्त्रि परिषदको निर्णयका विरुद्धमा सर्वोच्वमा रिट हालेका छन् । सर्वोच्वको रिटले गर्दा अवैध संरचना हटाउने प्रक्रिया लम्बिन पुगेको युवा संघ नेपालका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले बताए ।

‘सर्वोच्व अदालतमा रिट हालेर भूमाफियाहरुले अन्तरिम आदेश लम्ब्याउदै छन् ।’ उनले भने, ‘हामीले भन्ने गरेका जमिन लिजमा लिएका भूमाफियाहरुले रिट हालेर सर्वोच्वको अन्तरिम आदेशलाई लम्ब्याउदै छन् । अहिले अगाडि बनेका संरचनामा पुरा गर्नतर्फ लागेको देखिएको छ । राती राती सटर हालिरहेका छन् भन्ने आएको छ । त्यो पनि संरचना बनाउनु नै हो । हामीले त्यसतालाई सजग पार्न समन्वय गरिरहेका छौँ ।’

ताजा समाचार