महेन्द्रनगर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्याय तथा निर्मलाको न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्च माग गर्दै धर्ना बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि प्रहरीले धरपकड गरेको छ ।
सोमवार जिल्ला अदालत (कञ्चनपुर) को प्रवेशद्धारमा निर्मलाको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र न्यायिक आन्दोलनका घाइतेहरुमाथि प्रहरीले धरकपड गर्दा महिला अधिकारकर्मी घाइते भएका छन् ।
अदालतको प्रवेशद्धारमा धर्नामा बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि बल प्रयोग गरी हटाउन खोजेको महिला अधिकारकर्मीहरुको आरोप छ ।
धर्ना बसेकाहरुलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा महिला अधिकारकर्मी शारदा चन्द घाइते भएकी छिन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
‘हामी शान्तीपूर्ण धर्नामा थियौँ । पूर्व–निर्धारित कार्यक्रम अनुसार ३ घण्टा जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा धर्ना सकेर एक घण्टा अदालतको प्रवेशद्धारामा धर्ना कार्यक्तम थियो । त्यहाँ धर्नामा बसेका थियौँ । धर्ना सकिन १५ मिनेट अगाडि निर्मलाको न्यायिक आन्दोलनलाई तुहाउनका लागि प्रहरीले बल प्रयोग गरी हामीलाई त्यहाँबाट हटाउन थाल्यो ।’ महिला अधिकारकर्मी लक्ष्मी मल्लले दैनिक सञ्चारसंग भनिन्, ‘महिला प्रहरीको प्रयोग नगरी अभद्र शैलिमा पुरुष प्रहरी प्रयोग गर्दै हामीमाथि हस्तक्षेप भयो ।’
निर्मलाको न्याय तथा न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्चको माग गर्दै घाइते तथा महिला अधिकारकर्मीहरु दुई साता अघिदेखि जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा धर्नामा बसेका थिए ।
उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्द धर्नामा कुनै धरकपट नभएको दाबी गर्छन । अधिकारकर्मी घाइते भएको कुनै जानकारीमा नआएको उनले बताए ।