महेन्द्रनगर ।
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्याय तथा निर्मलाको न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्च माग गर्दै धर्ना बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि प्रहरीले धरकपट गरेको छ ।
प्रहरीले धरकपट गर्दा घाईते भएकी अधिकारकर्मी शारदा चन्दको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरीएको छ ।
चन्दको टाउको र पेटमा चोट लागेकोले सिटी स्क्यान गर्नु पर्ने भएकोले धनगढी रेफर गरीएको महाकाली अस्पतालले जनाएको छ ।
सोमवार जिल्ला अदालत ९कञ्चनपुर० को प्रवेशद्धारमा निर्मलाको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र न्यायिक आन्दोलनका घाइतेहरुमाथि प्रहरीले धरकपट गर्दा महिला अधिकारकर्मी शारदा चन्द घाइते थिईन् ।
अदालतको प्रवेशद्धारमा धर्नामा बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि बल प्रयोग गरी हटाउन खोजेको महिला अधिकारकर्मीहरुको आरोप छ ।
धर्ना बसेकाहरुलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा महिला अधिकारकर्मी शारदा चन्द घाइते भएकी हुन् ।
‘हामी शान्तीपूर्ण धर्नामा थियौँ । पूर्व–निर्धा्रित कार्यक्रम अनुसार ३ घण्टा जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा धर्ना सकेर एक घण्टा अदालतको प्रवेशद्धारामा धर्ना कार्यक्तम थियो ।
त्यहाँ धर्नामा बसेका थियौँ । धर्ना सकिन १५ मिनेट अगाडि निर्मलाको न्यायिक आन्दोलनलाई तुहाउनका लागि प्रहरीले बल प्रयोग गरी हामीलाई त्यहाँबाट हटाउन थाल्यो ।’ महिला अधिकारकर्मी लक्ष्मी मल्लले दैनिक सञ्चारसंग भनिन्, ‘महिला प्रहरीको प्रयोग नगरी अभद्र शैलिमा पुरुष प्रहरी प्रयोग गर्दै हामीमाथि हस्तक्षेप भयो ।’
निर्मलाको न्याय तथा न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्चको माग गर्दै घाइते तथा महिला अधिकारकर्मीहरु दुई साता अघिदेखि जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा धर्नामा बसेका थिए ।
उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्द धर्नामा कुनै धरकपट नभएको दाबी गर्छन । अधिकारकर्मी घाइते भएको कुनै जानकारीमा नआएको उनले बताए ।