कञ्चनपुर जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । मंगलबार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर असैनामा रहेका छाउगोठ भत्काएर अभियान सुरु गरिएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ को कार्यालयले असैना गाउँमा रहेका ८ छाउगोठ भत्काएर अभियानको सुरुवात गरिएको वडा अध्यक्ष ज्ञानबहादुर विष्टले बताउँछन् । ‘अछामी समुदायको घरमा निर्माण गरिएको छाउगोठ भत्काएको हो,’ उनले भने, ‘यसअघि आफै छाउगोठ भत्काउन सूचना गरेका थियौ, अटेरी गरेपछि हामीले भत्काएका हौं ।’
वडावासी सम्झाउँदै छाउगोठ भत्काएको उनि बताउँछन् । ‘अब वडामा २ छाउगोठ मात्र भत्काउन बाँकी छ, उनिहरुले पनि आफै छाउगोठ भत्काउने प्रतिवद्धता जनाएका छन्, मंगलबार बिहान उनिहरुले भत्काउ छन् ।’ शुक्लाफाँटा नगरपालिका–४ नम्बर कार्यालय छाउगोठ भत्काउने पहिलो वडा बनेको छ । छाउगोठ भत्काएका परिवारले फेरी छाउगोठ निर्माण गरिए वडाबाट प्रदान गरिने सेवा रोकिने वडा अध्यक्ष विष्टको भनाई छ ।
कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाबाट छाउगोठ भत्काउने अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य बताउँछन् । ‘मंगलबार शुक्लाफाँटा–४ मा रहेका छाउगोठ भत्काएर अभियानको सुरु गरेका छौं,’ उनले भने,‘यो अभियान सबै स्थानीय तहमा सञ्चालन हुन्छ ।’ स्थानीय, युवा क्लब र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहकार्यमा छाउगोठ भत्काइने उनि बताउँछन् ।
शुक्लाफाँटाको असैनाको गाउँमा निर्माण गरिएका छाउगोठ मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख मुकुन्द मरासिनी, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, स्थानीय, अछाम युवा समाज, कालिका युवा कल्बको सहभागितामा भत्काइएको थियो । शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ११, वडा ८ मा समेत अछामी समुदायको घरमा छाउगोठ रहेका छन् ।