महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक बिरेन्द्र सिंहमाथि हातपात भएको छ ।
सोमवार झलारी बजारमा विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद भट्ट लगायत ३/४ जनाको समुहले हातपात गरेको हो ।
विद्यालयको कामको शिलशिलामा झलारी बजार गएका बेला विद्यालय व्यवस्थापन समितिमा आफ्ना मान्छेलाई समावेश नगरेको भन्दै भट्ट लगायतको ३/४ जनाको समुहले हातपात गरेको विद्यालयका निमित्त प्रधानाध्यापक सिंहले बताए ।
‘विद्यालयको काम गर्ने बेला हातपात भएको छ ।’ दैनिक सञ्चारसंग उनले भने, ‘ईलाका प्रहरी कार्यालय झलारीमा अहिले उजुरी दिएको छुँ । भोली ती माथि सार्वजनिक मुद्दा हाल्ने तयारी गरेको छुँ ।’
उनले शुक्लाफाँटा नगरपालिका–६ का वडा सदस्य तर्कराज भट्ट, विद्यालय व्यवस्थापन समिति सदस्य गणेश प्रसाद भट्टको नाममा ईलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका छन् ।
उता विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद भट्टले निमित्त प्रधानाध्यापकमाथि हातपात नगरेको दाबी गरे ।
विद्यालयका निमित्त प्रधानाध्यापक सिंहले रडाको मचाउन चाहेको उनको आरोप छ ।
‘विद्यालयको निर्णय होटलभित्र बसेर गर्दै थिए । मैलैँ के निर्णय भयो भनेर बुझ्न खाजेको थिए । उहाँ (बिरेन्द्र सिंह) नै चर्को स्वरमा बोल्दै आए ।’ सदस्य भट्टले भने, ‘विद्यालयको के निर्णय भयो भनि बुझ्न पाउने मेरो पनि अधिकार हो । निर्णय नदेखाए पछि उनको झोला तानेर आफैले हेर्न खोजेको मात्र हुँ । यसमा उनले नै रडाको मचाउन खोजे ।’