कञ्चनपुरको दोधारा–चाँदनीमा भारतको ज्यादती कायमै

Share post:

महेन्द्रनगर ।
नेपाल–भारत सीमामा भारतीय पक्षबाट नेपालीमाथि हुने ज्यादती पुरानै हो । विभिन्न बाहाना झिकेर भारतीय पक्षबाट सीमामा बस्ने नेपालीलाई दुख दिने गरेका छन् ।

भारतसंग सीमा जोडिएका कञ्चनपुरका विभिन्न बस्तीहरुमा भारत पक्षबाट दुख दिने गरेको स्थानीयहरुको गुनासो छ । नेपाली बस्तीमामै प्रवेश गरी भारतीयहरुले नेपालीहरुमा गर्ने ज्यादती कायम नै छ ।

भारतीय ज्यादती कम हुन नसकेको सीमाबस्तीका बासिन्दाहरुको भनाइ छ । सीमाबस्तीमा भारतीय पक्षको ज्यादती कायम नै रहेको छनक सोमवार माहाकाली नगरपालिकामा घटित घटनाले प्रष्ट पार्छ ।


यो पनिः दोधारा–चाँदनी क्षेत्रका ४० सीमा स्तम्भ गायब


कञ्चनपुरको माहाकाली नगरपालिका–८ को सुन्दरनगरमा स्थानीयले लगाएको खेती नै सखाप पार्ने गरी भारतीय पक्षले ट्याक्टर चलाएको छ । भारतीय पक्षले ट्याक्टर प्रयोग गर्दै सोमवार माहाकाली नगरपालिका–८ सुन्दरनगरमा स्थानीय लक्ष्मण पुनले लगाएको बाली (मसुर) सखाप पारेको हो ।

सीमावस्तीका स्थानीय नेपालीहरुलाई दुख दिने गरीे भारतीय पक्षले बलजबरजस्ती नेपाली भूमिमा आएर ट्याक्टर प्रयोग गर्दै लगाएको बाली सखाप पार्न खोजिएको छ ।

सोमवार बिहान भारतीय पक्षले ट्रेक्टर प्रयोग गर्दै स्थानीय लगाएको बाली सखाप पारेको माहाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजाली बताउँछन् ।

‘भारतीयहरुले ट्रेक्टर ल्याएर स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमा लगाएको बाली नोक्सान गरिएको छ ।’ प्रवक्ता सिजालीले दैनिक सञ्चारसंग भने, ‘वि.सं.२०२४ सालदेखि भोग चलन गर्दै आएका छन्, अगाडि केही भएको थिएन अहिले आएर भारतले विभिन्न बहाना झिकेर नेपालीहरु दुख दिने काम भइरहेको छ ।’

वि.सं.२०२४ सालदेखि भोगचलन गर्दै आएको स्थानीय लक्ष्मण पुनले २/३ कट्टा जमिनमा लगाएको मसुर बालीमा भारतीय पक्षले ट्याक्टर प्रयोग गर्दै क्षति पु-याएको छ ।

दशगजा क्षेत्रको जमिनमा खेतिपाती गर्न नपाइने तर गरिएको भन्दै भारतीय पक्षले लगाएको बालीमा ट्याक्टर जोतेको स्थानीय लक्ष्मण पुनलाई उद्धृत गर्दै माहाकाली नगरपालिकाका प्रवक्ता सिजाली बताउँछन् ।

पुनले खेती गरेको सो जमिनको उनीसंग लालपुर्जा समेत छ । भारतीय पक्षबाट नेपाली भूमिमा ट्याक्टर जोताएको खबर पाए पछि स्थानीय, शसस्त्र प्रहरी बल तथा माहाकाली नगरपालिकाका प्रवक्ता सिजाली सहितको टोली त्यहाँ पुगेको थियो ।

स्थानीयहरु त्यहाँ पुग्दासम्म लक्ष्मण पुनले लगाएको बालीमा ३/४ पटक ट्याक्टर जोताएर फरार भएको थियो । सिजालीका अनुसार लक्ष्मणले खेती गरेको जमिन दशगजा क्षेत्र भन्दा वर नेपाली भूमि तर्फ नै छ ।

‘वर्षौदेखि भोगचलन गर्दै छौँ, नेपाली जमिन भएको लालपुर्जा समेत छ । दशगजा भन्दा धेरै वर नै हामीले खेती गरिरहेका छौँ । हामीले किन खेती गर्न नपाउने ?’ स्थानीयको भनाइलाई उद्धृत गर्दै प्रवक्ता सिजालीले भने ।

बेला बेलामा सीमाबस्तीमा भारतीय पक्षबाट हुने यस्ता कार्यहरु भारतको बेपाहा प्रवृत्ति भएको प्रवक्ता सिजालीको भनाइ छ । ‘नेपाली भूमिमा खेती किन गर्न पाइदैन ? भारतीयले विभिन्न बाहानामा नेपालीलाई दुख दिने काम गरेका छन् ।’ उनले भने, ‘दशगजा क्षेत्रमा आफुले कालोपत्रे गरेको छ, हामीलाई ग्राभेल गर्न पनि दिइदैन ।’

उता दोधारा–चाँदनीस्थित बोर्डर आउट पोष्ट (बिओपी) का प्रहरी निरीक्षक रामसिंह भण्डारी दशगजा क्षेत्रको जमिनमा कुनै पनि पक्षले खनजोत गर्न नपाउने सहमति भएको बताउँछन् ।

‘लक्ष्मण पुनले मसुर खेती गरे पछि भारतीय पक्ष र हाम्रो बीच बैठक बसेको थियो । सो बैठकले दुवै देशका सर्वे टोलीले सीमा निर्धारण नगरेसम्म कुनै पनि पक्षले खनजोत गर्न नपाउने सहमति भएको थियो ।’ उनले भने, ‘फेरी सो खेतमा भारतीय पक्षले ट्याक्टर प्रयोग गरे ।’

फोटो सौजन्यः पत्रकार पप्पु गुरुङ

ताजा समाचार