‘प्रहरीले छाउगोठ भत्काए, अब झन् खुला आकाशमूनि बस्नुपर्छ होला’

Share post:

बराहताल ! सोमबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका-७ बड्डीचौरमा छाउप्रथाबारे सचेतनामूलक कार्यक्रममा गरिएको थियो। प्रहरी आएर धमाधम छाउगोठ भत्काइरहेका बेला समुदाय प्रहरीले गरेको सचेतना कार्यक्रममा किशोरी तथा महिला उल्लेख सहभागिता थियो।

कार्यक्रममा सहभागी महिलाहरूलाई भने छाउगोठ भत्काएर छाउप्रथा सकिन्छ भन्नेमा पटक्कै विश्वास देखिएन।

बराहताल-५ की सुजता कँडेलको गाउँमा पनि फाट्टफुट्ट छाउगोठहरु छन्। ती गोठहरु आफैं भत्काउन स्थानीयलाई प्रशासनले आग्रह गरिसेको छ।

छाउगोठ भत्काइए पनि छाउप्रथा रहिरहने कुराप्रति सुजता निश्चिन्त छिन्।

‘हाम्रो गाउँमा पनि छाउगोठ छन्, ती पनि सायद भत्काइन्छ होला,’ उनले भनिन्, ‘रजस्वला हुँदा गोठमा बस्नु नपरे पनि घर बाहिर नै राख्ने, खान पकाउन नदिने, छुन नदिनेजस्ता कुरा भइरहन्छन्। छाउगोठ भत्काएपछि झन् खुला आकाशमा बस्नुपर्ला कि भन्ने चिन्ता छ।’

बराहताल-७ की संगीता विश्वकर्मा पनि छाउप्रथा नहट्नेमा ढुक्क छन्।

बाहिरका छाउगोठमात्र भत्काउनुभन्दा पनि गाउँगाउँमै पुगेर छाउप्रथा अन्त्यका लागि सचेतना फैलाउनु पर्ने उनी बताउँछन्।

‘मेरो गाउँमा छाउगोठ छैनन्, तैपनि बार्नुपर्छ,’ संगीताले भनिन्, ‘बाहिर देखिएको छाउगोठमात्र भत्काउनेभन्दा पनि त्यहाँ गएर मानसिक रूपमा नै छाउपडी मान्ने अवस्था अन्त्य गर्नुपर्‍यो।’

बराहतालकी गंगा सुवेदी छाउगोठ भत्काउने र सीमित स्थानमा पुगेर दिइने सचेतनाले समाजबाट छाउप्रथा उन्मूलन हुने कुरामा विश्वास छैनन्। ‘छाउगोठ भत्काउन र सम्बन्धित मान्छे आएर एक ठाउँमा बसरे छाउप्रथा अन्त्य गर्नुपर्छ भन्ने खालको सचेतनाले गाउँटोलमा यो कुरा लागू हुन्छ या हुँदैन,’ उनले भनिन्, ‘गाउँमा पनि एउटा समिति जस्तो बनाएर यस विषयमा सम्बन्धित निकायले खोजीनीति गरिदिए हुन्थ्यो।’

गृह मन्त्रालयको निर्देशनअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काइएको छ।

सुर्खेतमा हालसम्म ३१० वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

गृह मन्त्रालयले छाउपडी मान्ने ठाउँमा छाउगोठ भत्काउन र प्रथा मान्नेको सेवासुविधा रोक्न कर्णाली र सुदूरपश्चिमका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्त अझ पनि छाउगोठ भएका गाउँमा गएर भत्काउन प्रहरीले सहयोग गर्ने बताए। ‘नभत्काइएका ठाउँहरूमा पुगेर प्रहरीले गोठ भत्काउन साथ दिने छ,’ उनले भने, ‘जनचेतनामूलक कार्यक्रमसँगै रजस्वला भएको समयमा छाउप्रथाका नाममा विभेद गरिए कारबाही गर्न सघाउन प्रतिवद्ध छौं।’

श्रोतsetopati

ताजा समाचार