बेइजिङ । गुड्दै गरेको बस खाल्डोमा पर्दा चीनमा ६ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । तीब्र गतिको विकाससँगै चीनमा देखा परेको अप्ठेरोका कारण कहिलेकाहीं यस्ता घटना हुने गरेका छन् । लाइमस्टोन भएको स्थानमा भित्रि भागमा खोक्रो हुँदा यस्ता घटना हुने गरेको जनाइएको छ ।
पछिल्लो घटना सोमबार साँझ क्विन्घाइ प्रान्तको राजधानी सिन्जिङ्गमा भएको थियो । सीसीटीभी फुटेजमा देखाइएअनुसार घटनाका क्रममा मानिसहरू बाटोमा बस कुरेर बसिरहेका थिए । त्यही बेलामा सडकमा परेको खाल्डोमा बस छिरेको हो ।
ठूलो संख्यामा मानिसहरू बसलाई उद्धार गर्न उपस्थित भएका थिए । तर, बस छिरेपछि खाल्डो अझ चौडा भएको थियो । चीनका सरकारी मिडियाका अनुसार सो खाल्डो करिब १० डायमिटरको थियो ।
सो बसमा कति मानिस थिए भन्ने प्रष्ट भएको छैन । सन् २०१८ मा दाजाउको व्यस्त ठाउँमा यस्तै खाल्डो एक्कासि पर्दा चार जनाको ज्यान गएको थियो । सन् २०१३ मा यस्तै खालको दुर्घटनामा दक्षिणी चीनको सेन्जेनमा ५ जनाको मृत्यु भएको थियो । बीबीसी