नेपालको पश्चिम क्षेत्रमा ८ रेक्टरभन्दा ठूलो भूकम्प आउन सक्ने, सतर्कता अपनाउन आग्रह

विज्ञापन

Share post:

नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ ।

आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ ।फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटी का प्राध्यापक शिव सुवेदी नेतृत्वको टोली ले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेको छ ।

१२ बैशाख २०७२ को भूकम्पको समयमा खानी तथा भूगर्भ विभाग के तत्कालीन महानिर्देशक लोक विजय अधिकारी र सुर्खेत स्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन्।

वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन, बाहिरबाटै मापन गरिएको थियो ।

संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए । त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो ।

त्यसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो । तीमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो । त्यसपछि नेपालमा त्यत्रो ठूलो भूकम्प गएको छैन ।

भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको छ ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ । नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालमा भूकम्पीय जोखिमको हिसाबले सबैभन्दा जोखिमपूर्ण क्षेत्र कुन कुन हुन् भनी राखिएको जिज्ञासामा खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भने, “पूरै नेपाल भूकम्पीय जोखिममा छ ।

कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै छैन । हिमालय भनेको नै भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र हो । हाम्रा प्रत्येक ठाउँ जोखिममा छन् । हामी जोखिम क्षेत्रमै बसोबास गर्दै आएका छाँैं । ”

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको निगरानी राख्ने र भूकम्प गएमा त्यसको सूचना सार्वजनिक गर्दै आएको छ । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने जानकारी उनले दिए ।

वि.सं. २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्र बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो ।

त्यसपछि ५० हजारभन्दा बढी परकम्प गएका छन् । ठूला भूकम्प भएपछि लामो समयसम्म पनि भूकम्पका धक्काहरू महसुस हुने गर्छन् । त्यसलाई परकम्प भनिन्छ । ठूलो भूकम्प गएपछि बाँकी रहेको शक्ति बाहिरिने क्रममा ससाना अन्य भूकम्प जाने गर्छन् । प्रत्येक परकम्प आफैँमा भूकम्प भएको भनाइ अधिकारीको छ ।

वि।सं। २०७२ को भूकम्पबाट करिब नौ हजार मानिसको मृत्यु र २२ हजार जना घाइते भएका थिए । झन्डै आठ लाख घर क्षति भएका थिए । यसैगरी करिब सात खर्ब रुपियाँको भौतिक क्षति पुगेको थियो ।

भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५०औँ, सयौँ र हजारौँ वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्याङ्क छैन । गोरखापत्र दैनिकबाट

ताजा समाचार