महेन्द्रनगर ।
कञ्चनपुरमा ६ महिनाको अवधिमा भएका ४४ वटा सवारी दुर्घटनाबाट १३ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधिमा जिल्लाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको थियो ।
नियमित चेकजाँच तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेकाले बिगतको तुलनामा सडक दुर्घटनामा घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसी केसी दाबी गर्छन् ।
उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा भएका ४४ वटा सवारी दुर्घटनाबाट १३ जनाको मृत्यु, २२ जना गम्भिर घाइते र ११ जना सामान्य घाइते भए ।
‘शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्रमा सबैभन्दा बढि दुर्घटना भएको देखिन्छ ।’ प्रहरी निरीक्षक केसीले भने, ‘सो क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि विभिन्न पक्षसंग समन्वय गरेर नयाँ योजनाका साथ अगाडि बढ्दै छौँ ।’
तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने तथा छाडा चौपायाले गर्दा दुर्घटना हुने गरेको उनी बताउँछन् ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार श्रावणमा २ दुर्घटनाबाट १ जना, असोजमा ३ सवारी दुर्घटनाबाट २ जना, कार्तिकमा ६ दुर्घटनाबाट २, मंसिरमा ९ सवारी दुर्घटनाबाट ४ र पुसमा भएका २४ दुर्घटनाबाट ४ जनाले ज्यान गुमाउनु प-यो ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढि (२९ वटा) मोटरसाइल दुर्घटनामा परेका छन् । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा चालक, विद्यार्थी, गाडी व्यवसायी लगायतसंग छलफल, अन्तक्रियाका साथै विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक केसीले बताए ।
*फोटोः केही महिना पहिला भीमदत्त नगरपालिका सुकासालमा भएको जीप दुर्घटना