महेन्द्रनगर ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका एक जना प्राध्यापकले बिचौलियाको काम गरेर अमेरिकन नागरिकबाट घर भाडाबापत चर्को शुल्क असुलेको भेटिएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक राजेन्द्र जोशीले बिचौलियाको काम गर्दै अमेरिकाबाट विश्वविद्यालयमा अध्यापन गर्न आएका ‘जेम्स जोन्स’बाट हजारौ रुपैयाँ लिएको पाइएको हो ।
जोशीले भीमदत्त नगरपालिका–१८ बरपिपल चोकमा रहेको कृष्णमुरारी पन्तको घर १५ हजार रुपैयाँमा भाडामा लिएर बिचौलियाको भूमिकामा २ कोठा जोनलाई भाडामा दिए ।
जसको भाडा शुल्क मासिक ७५ हजार रुपैयाँ लिएको छ । जोनसँगको सम्झौतामा जोशीले आफ्नी श्रीमती मीना खरेललाई घर मालिक अर्थात सम्झौता गर्ने व्यक्ति देखाएका छन् ।
यद्यपी सो घर कृष्णमुरारी पन्तको हो । जेम्स जोन्स भाडामा बसेको घर जोशीले १५ हजार मासिक भाडामा लिएका हुन । जोशी दम्पतीले धोकाधडीपूर्ण तरिकाले घर मालिक प्रस्तुत गर्दै अमेरिकन नागरिकबाट घर भाडाबापत चर्को शुल्क लिएका छन् ।
विगतमा विश्वविद्यालयमा अध्यापनका लागि आएका बिदेशी प्राध्यापकबाट घर भाडाबापत यत्रो शुल्क लिएको भेटिदैन । महेन्द्रनगर क्षेत्रमा ‘एक अपार्टमेन्ट’को मासिक भाडा ७५ हजार रुपियाँ निकै चर्को भएको यो विषय शंकास्पद रहेको यहाँका स्थानीयहरुको बुझाइ छ ।
अमेरिकन राजदुताबासबाट सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यापन गर्न आएका जोन नक्कली घर मालिक जोशी कारण अमेरिका फिर्ता भएको बताउँछन् ।
१० महिना अध्यापनको सम्झौताका साथ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आएका जोन्स साढे चार महिनामा नै अमेरिका फर्किए । उनले पाँच महिनाको घर भाडा मासिक ७५ हजार रुपियाँका दरले तिरेर गएका छन् ।
‘कोठा नपाएर भौतारिरहेको अवस्थामा अमेरिकन दुतावासमा रहेका एक व्यक्तिले जोशीसंग भेटाइ दिए ।’ शुक्रवार अमेरिका फर्किदा दैनिक सञ्चारसंग कुरा गर्दै जेम्सले भने, ‘नक्कली घरबेटी बनाएर चर्को भाडा लिए, यहाँ रहँदा श्रीमती र छोरीमाथि दुव्र्यवहार भयो ।’
जोशीले भाडामा दिएको घरमा सुरुमा जेम्ससंगै उनकी छोरी र श्रीमती समेत बस्थे । दुव्र्यवहार पछि उनीहरुलाई जेम्सले अमेरिका नै फर्काइ दिएका थिए । उता चर्को मूल्यमा घर भाडामा दिने ‘घर मालिक’ भने जेम्स परिवारलाई कुनै दुव्र्यवहार नगरेको दाबी गर्छन् । राजेन्द्र जोशीले सम्झौता अनुसार नै घर भाडा लिएको दाबी गरेका छन् ।
जोशीले नै आफ्नी श्रीमतीलाई घरबेटी देखाएर जेम्सलाई बस्नका लागि घर भाडामा दिएका थिए । ‘सम्झौता अनुसार नै भाडा लिइएको छ, भाडामा लिइएको अपार्टमेन्ट सुविधा सम्पन्न छ, दुतावासका मानिससहित उसकै उपस्थितीमा सम्झौता गरेका हौँ ।’ राजेन्द्र जोशीले दैनिक सञ्चारसंग भने, ‘भाडामा चित्त नबुझेको भए अगाडि नै भनेको भए हुने, अहिले जागिर गए पछि, मेरो कारण जागिर गएको भन्दै रिसिबी साध्न खोजिएको हो ।’
जेम्सले भाडामा लिएको अपार्टमेन्टमा सम्झौतामा भए बमोजिमका सम्पूर्ण सुविधा रहेका थिए । ‘घरको तत्लो तलामा जेम्स बस्ने भए पछि हामीले सो अपार्टमेन्ट मर्मत, रङरोगन लगायतको काममा साढे पाँच लाख खर्च गरेका थियौँ, सम्झौता अनुसार नै भाडा लिएका हौँ ।’ उनले भने, ‘जेम्स जागिरबाट हटे पछि दुस्मनी साध्न मेरा विरुद्ध प्रचार गर्न थाले ।’