यस्तो पनि हुन्छ कञ्चनपुरमा !

Share post:

महेन्द्रनगर ।
पुरानो जीर्ण भवन । भवनको बीचमा पर्ने गरी छतमा सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको साईबोर्ड राखिएको छ । साइनबोर्डमा लेखिएको छ ‘माहाकाली नगरपालिका वडा नं. १, २, ३, ४ र ५ को कार्यालय ।’

नेपाल–भारत सीमामा बग्ने महाकाली नदी पारी पर्ने महाकाली नगरपालिका कञ्चनपुर जिल्लामा पर्छ । १० वडा रहेको यस नगरपालिकामा पाँच वटा वडा कार्यालयहरु रहेका छन् ।

‘माहाकाली नगरपालिका वडा नं. १, २, ३, ४ र ५ को कार्यालय ।’मध्ये हाल वडा नम्बर ३ र ४ को वडा कार्यालय अर्को स्थानमा रहेको महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजाली बताउँछन् ।

उनका अनुसार १, २, ३ ४ र ५ को वडा कार्यालय लेखिएको साविकको चाँदनी गाउँ विकास समितिमा हाल वडा नम्बर १, २ र ५ को संयुक्त वडा कार्यालय छ ।

वडानम्बर ७, ८, ९ र १० को कार्यालय साविकको दोधारा गाविसमा रहेको छ । वडानम्बर ३, ४ र ६ को कार्यालय भने छुट्टाछुट्टै छन् ।

भवन अभावका कारण एउटै भवनमा संयुक्त वडा कार्यालय राख्नु परेको प्रवक्ता सिजाली बताउँछन् । वडानम्बर ७, ८, ९ र १० को संयुक्त वडा कार्यालयभित्रको एक कोठामा लहरै वडाध्यक्षका चार कुर्सी र चार टेवल राखिएका छन् । प्रत्येक टेवलमा एक एकथान कम्प्युटर पनि छ ।

सबै टेवलहरुमा वडाध्यक्षका नाम, पद र वडा नंम्बर लेखिएका ‘नेमप्लेट’ राखिएको छ ।वडा नम्बर ७, ८, ९ र १० को संयुक्त वडा कार्यालय एउटै भवनमा राखिदा टाढाका वडावासीलाई दैनिक सेवा प्रदान गर्नमा समस्या उत्पन्न हुने गरेको छ ।

‘भवन अभावमा एउटै भवनमा चार वटा कार्यालय राख्दा असहजता भएको छ ।’ माहाकाली नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले भने, ‘सेवाग्राहीलाई व्यवस्थापन गर्न अफठ्यारो छ, कोठा कम हुँदा एउटैमा खाँदिएर बस्नु पर्छ । यस्तो अवस्थामा सेवाग्राही पनि अलमलमा पर्छन । असहज हुँदा पनि काम गर्नै पर्छ ।’

उनका अनुसार माहाकाली नगरपालिकाका विभिन्न वडाको छुट्टा छुट्टै कार्यालयका लागि जमिन खोजीको कार्य रहेको छ भने कतिपयले जमिन पाएकाले निर्माणको केही दिनमा सुरु हुने छ ।

संघीय सरकारबाट बिशेष अनुदान अन्तर्गत ७५ लाख बजेट आएकाले उक्त बजेटको सामुहिक आवास निर्माण गरेर केही वडा कार्यालयलाई त्यहाँ राख्न सकिने वडाध्यक्ष क्षेत्रीले बताए । ती चार वटा वडा हेर्नका लागि २ वटा सचिव मात्रै छन् ।

वडाको क्षेत्रमा नै कार्यालय स्थापना गर्न खोजिए पनि सञ्चारको पहुँच नहुनाले त्यस्तो गर्न नसकिएको उनी बताउँछन् । वडानम्बर ९ र १० ले वडा कार्यालय स्थापनाका लागि जमिन प्राप्त गरेको छ ।

‘गाउँगाउँमा सिंहदरबारको नारा अनुसार त सम्बन्धित वडाभित्रै वडा कार्यालय हुनु पर्ने हो तर अहिलेसम्म त्यसो गर्न सकिएको छैन् ।’ स्थानीय हरिश भण्डारीले भने, ‘वडा कार्यालय टाढा भएकाले आउन गाह्रो हुन्छ, त्यति मात्र होइन एउटै कार्यालयमा सबै वडाका वडाध्यक्ष हुने हुनाले कुन कहाँका हुन चिन्नै गाह्रो पर्छ ।’

माहाकाली नगरपालिका १० वटै वडा कार्यालयका छुट्टा छुट्टै भवन निर्माणको तयारी भइरहेको माहाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजाली बताउँछन् ।

‘सबैका छुट्टा छुट्टै भवन निर्माण गर्ने हो । कसैले जमिन पाएका छन्, कसैले पाएका छैनन् ।’ उनले भने, ‘सबैतिर नेटको पहुँच नहुनाले पनि समस्या उत्पन्न भएको छ । ’ उनका अनुसार माहाकाली नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय निर्माणका लागि स्टिमेट तयार भइरहेको छ ।

ताजा समाचार