महेन्द्रनगर । नेपालमा सर्वप्रथम वि.स. २०४४ सालमा एच.आई.भी/एड्स फेला परेको थियो । त्यस बेलादेखी अहिले सम्म यस्को महामारी बढीरहेको छ ।
काम खोज्दै भारतका विभिन्न सहर तथा अन्य मुलुक पुगेका पुरुषहरू असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमित भई घर फर्केपछि उनीहरूबाटै अरुमा संक्रमित हुने गरेकोले नेपालमा यो रोगबाट संक्रमितहरुको संख्या बढीरहेको छ ।
कञ्चनपुर जिल्लामा पनि एच.आई.भी. संक्रमितको संख्या बढ्दै गएको छ । महाकाली अस्पतालको ए.आर.टी. उपचार केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म ५ सय ३४ जना एच.आई.भी/एड्स बाट संक्रमित व्यक्ति रहेका छन् ।
जम्मा ५ सय ३४ जना मध्य १ सय २८ जनाको मृत्यु, ६७ जनालाई रेफर, ५८ जना हराएको र ३ सय ११ जनाले औषधी सेवन गरीरहेको महाकाली अस्पतालका ए.आर.टी काउन्सिलर बिमला भट्टले बताइन् ।
महाकाली अस्पताल कञ्चनपुरको ए.आर.टि उपचार केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा जम्मा एड्स संक्रमित मध्य १ सय ६६ जना महिला, १ सय २८ जना पुरुष र १४ जना बालवालिका रहेका छन् ।
काउन्सिलर भट्टले भनिन् ‘हालसम्म २६ महिला, ९१ पुरुष र ११ बालवालिका गरी जम्मा १ सय २८ जनाको एड्का कारण मृत्यु भईसकेको छ ।’ त्यस्तै अस्पतालको ए.आर.टी. उपचार केन्द्रमा उपचार सम्भव नभएपछि ४१ जना महिला २६ पुरुष गरी जम्मा ६७ जनालाई अन्यन्त्र रेफर गरीएको काउन्सिलर भट्टले दैनिक सञ्चारलाई बताईन् ।
उनले भनिन् ‘२५ जना महिला र ३३ जना पुरुष गरी जम्मा ५८ जना संक्रमित व्यक्तिहरु हराएका छन् । अन्तिम पटक औषधी लिएको तीन महिना सम्म पनि सम्पर्कमा नआएका व्यक्तिलाई हराएको भन्छौ ।’
जिल्लामा चालु आर्थिक वर्ष २०७६/०७७ को हाल सम्मको अवधिमा मात्र २८ जना नयाँ एच.आई.भी./एड्स संक्रमित फेला परेको काउन्सिलर भट्टले बताईन् । ‘हाल कञ्चनपुरमा एच.आई.भी./एड्स संक्रमितको संख्या बढ्दै गएको छ, प्रत्येक महिनामा ३र४ नयाँ संक्रमित फेला पर्ने गरेका छन् ।’ कान्सिलर भट्टले भनिन् ‘यो तथ्याङ्क त हामी कहाँ पुगेको तथ्याङ्क मात्र हो धेरै संक्रमितहरु लाज मानेर, यो सम्बन्धि थाहा नभएर हामी सामु नपुगेका संक्रमितहरु अझ बढी हुन सक्छन् जस्को कुनै तथ्याङ्क नै छैन ।’
उनका अनुसार हाल सर्वसाधारण यो रोग सम्बन्धि सचेत रहेको र आफ्नो स्वास्थ चेक जाच गर्ने गरेका छन् ।
यो रोगको न्युनिकरणको लागी विदेश बाट फर्के पछि रगत चेक जाँच गर्न, औषधी निरन्तर सेवन गर्ने, यौन सम्पर्क राख्दा कण्डमको प्रयोग गर्ने, एड्सका लक्षण देखा परेमा जति सक्दो चाडो स्वास्थ चौकी जानु पर्नेमा कान्सिलर भट्टले जोड दिईन् ।
संक्रमितहरुले खानपानमा ध्यान दिएमा, समयमा औषधी खाएमा, स्वास्थ्य चेकजाच गरेमा बाच्न सकिने काउन्सिलर भट्टले जानकारी दिईन् ।
सबै भन्दा बढी संक्रमित भीमदत्तमा
कञ्चनपुरमा जम्मा ५ सय ३४ जना एच.आई.भी. संक्रमित मध्य सबै भन्दा बढी संक्रमित जिल्लाको भीमदत्त नगरपालीमा फेला परेका छन् ।
ए.आर.टी. उपचार केन्द्र महेन्द्रनगरको तथ्याङ्क अनुसार भीमदत्त नगरपालीकामा सबै भन्दा बढी १ सय २५ जना एड्स संक्रमित रहेका छन् ।
त्यस्तै बेदकोट नगरपालीकामा ६८ जना, बेल्डाडी गाउँपालीकामा १६ जना, महाकाली नगरपालीकामा ४४ जना एच.आई.भी./एड्सबाट संक्रमित रहेका छन् ।