बैतडी — सदरमुकाम खलंगाको गोठालापानीबाट नेपाल—भारत सीमा नाका झुलाघाटसम्मको दूरी १८ किलोमिटर छ । यो सडकखण्डमा यात्रा गर्नेहरूले जिप चालकले मागेअनुसार भाडा तिर्नुपरेको गुनासो गरेका छन् ।
चालकले बीच बाटोमा झर्ने यात्रुबाट पनि पूरा भाडा असुल्ने गरेका छन् । ५ किलोमिटरभित्रै पर्ने बाराकोट, त्रिपुरा, बुड्डा, तीर, खडेनीसम्मको दूरी छिचोल्न १ सय रुपैंया तिर्न बाध्य भएको दशरथचन्द नगरपालिका–१० की मथुरा लावडले गुनासो गरिन् । झुलाघाटसम्मको पूरा भाडा नदिए गाडीमै नचढाउने गरेको उनको भनाइ छ । ‘नचढी पनि नहुने, कति दुःख पाउनु भनेर यात्रा गर्छौं । सरकारले जिपको सट्टा गाडीको व्यवस्था गरिदिएको भए सहज हुने थियो,’ मथुराले भनिन् ।
स्थानीय नीरु लावडका अनुसार झुलाघाटबाट फर्किंदा चालकले यात्रुका सामानको पनि यात्रु बारबरकै भाडा लिने गरेका छन् । दैनिक उपभोग्य समान किनमेल गर्न यहाँका स्थानीय सीमापारिको भारतीय बजार झुलाघाट जाने गर्दछन् । यसरी सामान लिएर फर्किने यात्रुबाट १ सयदेखि ५ सयसम्म असुल्ने गरिएको यात्रुको गुनासो छ । सामानको भाडा चालकले मागेजति तिर्नुपर्ने दशरथचन्द नगरपालिका–४ की आरती रानाले बताइन् ।
गोठालापानीदेखि झुलाघाटसम्म ४० जिप सञ्चालनमा छन् । तीमध्ये महाकाली यातायात समितिका २३ भन्दा बढी छन् । सो सम्बन्धमा चेकजाँच गर्ने गरको र ठगेको जानकारी पाएर केहीलाई कारबाही पनि गरिएको बैतडीका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र रावलले बताए । ५ वर्षअघि यस रुटको भाडादर १ सय रुपैयाँ तोकिएको थियो । बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले यात्रु स्वयंले प्रहरीलाई गुनासो नगर्ने भएकोले समस्या आएको बताए । यातायात व्यवसायी भने बढी भाडा लिएको आरोप स्वीकार्दैनन् । महाकाली यातायात समिति संयोजक त्रिलोकसिंह थापाले भने, ‘यस समितिका सवारीबाट बढी भाडा लिइएको भए अब त्यसो हुन दिन्नौं ।’ सामानको भने थप रकम लिने गरिएको उनले स्वीकारे ।