बेदकोट नगरपालिकामा सडकबत्ती र सिसिटिभी जडान गरिने

विज्ञापन

Share post:

महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने सडकखण्डमा नगरपालिकाले सडकबत्ती तथा सिसिटिभी जडान गर्ने भएको छ ।

दुर्घटना न्यूनिकरण तथा सुरक्षालाई मध्यनजर गर्दै महेन्द्र राजमार्गको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने सडकखण्डमा बत्ती जडान गर्न लागिएको हो ।

सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु भएको भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

‘दुर्घटना तथा सुरक्षालाई दृष्टिगत गर्दै यस वर्ष सडकबत्ती र सिसिटिभी क्यामेरा जडान गरिदै छ ।’ दैनिक सञ्चारसंग कुरा गर्दै उनले भने, ‘यसका लागि ठेक्का भएको छ, केही समयमा नै काम सुरु हुन्छ ।’

उनका अनुसार एक करोड ५० लाखमा सिसिटिभी क्यामेरा र सडकबत्ती जडान गरिने छ । पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत नगरपालिकाको सीमा प्रारम्भ रेखा काङला पुलदेखि चम्फापुरसम्मका मुख्य चोक–चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

‘पहिलो चरणमा मुख्य चोकमा सडकबत्ती जडान गरिने छ, बजेट अपुग नभएमा राजमार्गको अन्य ठाउँमा पनि बत्ती थपिदै जाने छन् ।’ नगर प्रमुख चन्दले भने ।

पहिलो चरणमा नगरपालिकाको सुडा, लालपुर, सिसैया, सामादैजी, दैजी, चम्फापुर लगायतका चोकमा सडकबत्ती जडान गरिन लागिएको हो । यस्तै सिसिटिभी क्यामेरा पनि नगरपालिका अन्तर्गत राजमार्गमा रहेका विभिन्न चोक–चोकमा जडान गरिने छन् ।

ताजा समाचार