विराटनगर । बहुविवाह गरेर फरार रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का ४६ वर्षीय रामजी विश्वकर्मालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
घरमा जेठी श्रीमती हुँदाहुँदै २०५९ सालमा रामजीले तारामाया विश्वकर्मासँग बहुविवाह गरेका थिए । दोस्रो विवाह गरेपछि उनी र कान्छी श्रीमतीविरुद्ध जेठी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यसपछि दुवैजना भागेका थिए । प्रहरीले पक्राउ गर्न नसकिएको भन्दै रामजी र तारामायालाई फरार अभियुक्तको सूचीमा राखेर बहुविवाह मुद्दा चलाएको थियो ।
बहुविवाह मुद्दामा जिल्ला अदालत मोरङले दोषी ठहर गरे पनि विश्वकर्मा दम्पत्ति १७ वर्षदेखि फरारको सूचीमा थिए ।
अदालतले २०६३ साल फागुन ३० गते दुवैजनालाई जनही एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर कैद सजाय भुक्तानका लागि जेल बस्नुपर्ने उनीहरु पक्राउ परेका थिएनन् ।
फरार रहेका मध्ये श्रीमान रामजीलाई पथरीशनिश्चरेबाटै पक्राउ गरेर प्रहरीले आइतबार अदालतमा पेस गरेको छ । उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए ।
रामजीले बहुविवाह गरेर कान्छी श्रीमतीका रुपमा भित्राएकी तारामाया भने अहिले दुवईमा रहेको खुलेको छ । डीएसपी गिरीले अदालतले दोषी ठहर गरिसकेका कारण कैद सजाय भुक्तान गर्नुपर्ने उनी छलिँदै पासपोर्ट ९राहदानी० बनाएर वैदेशिक रोजगारीका लागि गएको पुष्टि भएको बताए ।
उनकाअनुसार चार वर्षअघि उनी विदेश गएको देखिन्छ । जेल बस्नु पर्ने अपराधी विदेशमा रहेको पाइएका कारण इन्टरपोलमार्फत नेपाल झिकाउन पहल गरिने जानकारी गिरीले दिए ।
‘बहुविवाह गरेका कारण अदालतले कैद सजायको फैसला गर्दै दोषी करार गरिसकेका श्रीमान नेपालमै लुकिछिपी बसेको पाइयो,’ उनले भने, ‘कान्छी श्रीमतीका रुपमा भित्राएकी महिला भने जेल छलेर चार वर्ष अघि पासपोर्ट बनाउँदै विदेश गएको खुल्यो ।’
गिरीकाअनुसार विश्वकर्माका कान्छी श्रीमतीतर्फका १३ वर्षकी छोरी र ११ वर्षका छोरा पनि छन् । रामजीको विदेशमा रहेकी कान्छी श्रीमतीसँग नियमित सम्पर्क रहेको पाइएको छ ।
जेठी श्रीमती भने उनीसँग केही समय अघि सम्बन्ध विच्छेद गरेर धरानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।