कञ्चनपुरमा २५ छाउगोठ भत्काइए, भत्काइएका छाउगोठमा भेटिए बिच्छी र सर्प

Share post:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेका २५ वटा छाउगोठ आइतबार भत्काइएको छ ।

वडा कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय झलारीले स्थानीय बासिन्दाका घर घरमा पुगेर छाउगोठ भत्काएको हो ।

छाउगोठ भत्काउनका लागि वडा अध्यक्ष दिल बहादुर बुढा र स्थानीय बासिन्दाले सहयोग गरेका छन् । ‘अज्ञानताका कारण बुहारीहरूलाई छाउगोठमा बस्न भन्दै आएका थियौं’ स्थानीय ७५ वर्षीय महिला भरु बुढाले भनिन्, ‘छाउ गोठ हटेपछि घरभित्रै बस्न दिन्छौँ। छुवाछुत पनि अब गर्दैनौँ ।’

घरघरमै पुगेर वडा अध्यक्ष दिल बहादुर बुढाले छाउगोठ नभत्काउनेको सेवा सुविधा रोकिने भएकाले महिनावारी भएका छोरी बुहारीलाई गोठमा राख्ने कार्य बन्द गरिनु पर्ने बताए ।

झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले पूरै शरीर नअटने छाउगोठमा छोरी बुहारीलाई राख्दा अशुरक्षा हुने र स्वास्थ्यमा समेत समस्या हुने भएकाले छाउ गोठ आफैँ हटाउन पर्ने बताए ।

छाउ गोठ भत्काउने क्रममा बिच्छी, सर्पसमेत फेला परेकाले यस्तो असुरक्षित ठाउमा छोरी बुहारीलाई राख्ने कार्य बन्द गर्नुपर्ने उनले बताए ।

यस अघि प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यको नेतृत्वको टोलीले नगरपालिका–४ आशापुरका ११ वटा छाउगोठ भत्काएको थियो । अझै नगरपालिका क्षेत्रमा धेरै छाउगोठ भत्काउन बाँकी रहेका छन् ।

ताजा समाचार