महेन्द्र राजमार्ग सडकबत्तीविहिन, बजेट स्वाहा !

Share post:

महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरमा पर्ने सडकखण्ड सडकबत्तीविहिन अवस्थामा रहेको छ । सवारी साधनको निकै भिडभाड हुने यो सडकखण्डमा सडकबत्ती नहुँदा दुर्घटनाको खतरा बढेको छ ।

जनप्रतिनिधिहरुको बेवास्ताका कारण सो सडकमा बिजुलीबत्तीको सुविधा नहुँदा जिल्लाको बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा पर्ने राजमार्ग क्षेत्र अन्धकारमय बनेको स्थानीयहरुको आरोप छ ।

यी स्थानीय तहले वर्षेनी विद्युक्तकरण गर्ने भन्दै लाखौँ बजेट खर्च गर्नेका छन् । तर अहिलेसम्म राजमार्गजस्तो संवेदनशील क्षेत्रमा सडकबत्ती जडान गर्न सकेका छैनन् ।

विद्युक्त कार्यालयसंगको साझेदारीमा स्थानीय तहले सडकबत्ती जडान गर्ने गरेका छन् । साँझपख पूर्व–पश्चिम महेन्द्रराजमार्ग हुदै जाने हो भने सो क्षेत्र अन्धारमय हुन्छ ।

महेन्द राजमार्गमा सडकबत्ती नहुदा दुर्घटनाको खतरा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसी बताउँछन् ।

‘राजमार्गमा सडकबत्ती नै छैन, रातीको समयमा सडकमा उज्यालो नहुँदा दुर्घटनाको खतरा बढेको छ ।’ उनले भने । चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा भएका सवारी दुर्घटना सबैभन्दा बढि महेन्द्र राजमार्गको शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रको राजमार्गमा भएका छन् ।

बेलुका महेन्द्र राजमार्ग हुदै जाने हो भने भीमदत्त नगरपालिकाको सीमासम्ममा केही सडकबत्ती देखिन्छन् । तर बेदकोट नगरपालिकाको सीमा प्रारम्भ अर्थात भाँसी काङ्ला पुल लागेपछि सडकमा सडकबत्ती नै पाइदैनन ।

कुनै ठाउँमा भए पनि समयमा नै नबाल्ने तथा बिग्रेर बेकामे बनेका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले विकासको पूर्वाधार विद्युत शीर्षकलाई कुनै वास्ता नै नगरेकोे स्थानीयतको आरोप छ ।

शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाले विद्युक्तमा गत वर्ष कुल ६०/७० लाख बजेट खर्च गरेको जनाएका छन् । जनजीविकासंग प्रत्यक्ष जोडिएको सडकबत्तीको योजनालाई यी स्थानीय तहका जनप्रतिनिधिले उपेक्षा गरेको स्थानीयले गुनासो गरेका छन् ।

बिगतदेखि नै सडकबत्तीविहिन रहेको महेन्द्र राजमार्गको सो खण्डमा जनप्रतिनिधि निर्वाचित भएर आएको झण्डै ३ बर्ष बित्नै लाग्दा समेत उनिहरुले यसतर्फ कुनै चासो नै देखाएका छैनन ।

लामो समयदेखि उक्त सडकखण्डमा सडकबत्ती नहुदा रातीको समयमा सर्वसाधारण तथा यात्रु मर्कामा परेका छन् । खास गरेर बिहान बेलुका कलेज तथा काम गरेर घर फर्किने मजदुरहरु निकै मर्कामा परेका छन् ।

सडकबत्तीको अभाव त्यसैमा छाडा चौपायाले गर्दा सो क्षेत्रमा दुर्घटनाको खतरा बढेको हो । ‘बत्ती नहुदा रातीको समयमा सवारी साधन चलाउन निकै समस्या हुन्छ, गाईगोरु नजिकै आएको राम्ररी देखिदैन, छाडा गाईगोरुले गर्दा झनै समस्या भएको छ ।’ लामो समयदेखि सवारी साधन चलाउदै आएका माधव पन्तले भने । ‘यहाँ सडकबत्ती जडान गरिदिए साह्रै राम्रो हुन्थ्यो, जनप्रतिनिधिले सडकबत्ती जडान गर्न बेवास्ता गरेका छन् ।

यो विषयमा जनप्रतिनिधि लगायत सम्बन्धि पक्ष गम्भिर हुनु पर्छ ।’ उनले भने । सो सडकमा आवात जावत गर्नेहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । सडकको विद्युतका पोलमा बिजुली बत्ती बल्न छाडेपछि रातीमा यात्रा गर्ने सवारी तथा पैदलयात्रुलाई समस्या पर्ने गरेको छ ।

बिजुली बत्ती नहुदा चोरी, लुटपाट तथा अन्य अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । कुनै घटना भएमा अनुसन्धान गर्न तथा रातको समयमा बजारमा गस्ती गर्न समेत अप्ठ्यारो परेको प्रहरीको गुनासो छ ।

सडकबत्ती नहुँदा राती अबेरसम्म अफिसमा काम गर्ने कर्मचारी, सञ्चारमाध्यम रेडियो, एफएम र पत्रपत्रिकामा काम गर्नेलाई पनि सडकमा बत्ति नबल्दा आफ्नो बासस्थान जान समस्या हुने गरेको छ ।

टाढाबाट यात्रा गरेर आउने यात्रुहरुले पनि सडकबत्ती नहुँदा बाटो पहिल्याउन समस्या भोग्दै आएका छन् । सरकारले मनाइरहेको भ्रमण वर्ष–२०२० लाई समेत यसले प्रभावित पारेको स्थानीयहरुको बुझाइ छ ।

स्थानीय तहले समेत सडकबत्तीको समस्यालाई नजिकबाट नियालेको पाइँदैन । जनप्रतिनिधि आएपछि केही राम्रो काम हुने अपेक्षा गरेका सर्वसाधारणहरु यिनै साना भनिएका समस्याहरु पनि समाधान नहुँदा निराश बन्ने गरेका छन् ।

उता बेदकोट नगरपालिकाले सडकखण्डमा नगरपालिकाले सडकबत्ती तथा सिसिटिभी जडान गर्ने भएको छ । दुर्घटना न्यूनिकरण तथा सुरक्षालाई मध्यनजर गर्दै महेन्द्र राजमार्गको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने सडकखण्डमा बत्ती जडान गर्न लागिएको हो ।

सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु भएको भएको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए । ‘दुर्घटना तथा सुरक्षालाई दृष्टिगत गर्दै यस वर्ष सडकबत्ती र सिसिटिभी क्यामेरा जडान गरिदै छ ।’ दैनिक सञ्चारसंग कुरा गर्दै उनले भने, ‘यसका लागि ठेक्का भएको छ, केही समयमा नै काम सुरु हुन्छ ।’

उनका अनुसार एक करोड ५० लाखमा सिसिटिभी क्यामेरा र सडकबत्ती जडान गरिने छ । पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत नगरपालिकाको सीमा प्रारम्भ रेखा काङला पुलदेखि चम्फापुरसम्मका मुख्य चोक–चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

‘पहिलो चरणमा मुख्य चोकमा सडकबत्ती जडान गरिने छ, बजेट अपुग नभएमा राजमार्गको अन्य ठाउँमा पनि बत्ती थपिदै जाने छन् ।’ नगर प्रमुख चन्दले भने ।

पहिलो चरणमा नगरपालिकाको सुडा, लालपुर, सिसैया, सामादैजी, दैजी, चम्फापुर लगायतका चोकमा सडकबत्ती जडान गरिन लागिएको हो । यस्तै सिसिटिभी क्यामेरा पनि नगरपालिका अन्तर्गत राजमार्गमा रहेका विभिन्न चोक–चोकमा जडान गरिने छन् ।

कृष्णपुर नगरपालिकाले राजमार्ग क्षेत्रमा सडकबत्ती जडान गरिरहेको जनाएको छ । दुर्घटना न्यूनिकरणका लागि राजमार्गको भिडभाड हुने केही क्षेत्रमा सडकबत्ती जडान गरिएको नगरपालिकाका प्रवक्ता छत्र बहादुर महरा बताउँछन् ।

‘नगरपालिकाको २, ७ र ५ को राजमार्ग क्षेत्रमा सडकबत्ती जडान गरिएको छ ।’ उनले भने, ‘यो वर्ष अन्य ठाउँहरुमा पनि जडान गरिने छ ।’ यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि बजार क्षेत्रमा सौर्यबत्ती जडान गरेको दाबी गरेको छ ।

‘गत वर्षको रहेको १५/१६ लाख बजेटबाट बजार क्षेत्रमा रहेका वडा नम्बर १०, ५ र ६ मा सौर्यबत्ती जडान गरिएको थियो ।’ प्रवक्ता जगत बहादुर सिंहले भने, ‘यो वर्ष अहिलेसम्म केही काम भएको छैन । मणिकाधाममा विद्युक्तिकरणको योजना छ ।’

ताजा समाचार