धादिङ — स्थानीय वडास्तरीय फुटबल प्रतियोगिताको रेफ्रीबाट हटाएको निहुँमा विवाद हुँदा एकजनाको हत्या भएको छ ।
खनियाबास–४, कुण्डलीखेतमा स्थानीय गुराँस युवा क्लबले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा २ दिनसम्म रेफ्री बसेका राम तामाङलाई रेफ्रीबाट हटाइएपछि विवाद भएको थियो ।
विवादकै क्रममा नेत्रावती–१, मार्पाक, थला निवासी तामाङ र उनका भाइ रोशन तामाङले मिलेर आगो फुक्ने जिआई पाइपको ढुंग्रो प्रहार गरेपछि खनियावास–४, घाम्साका ३३ वर्षीय शन्तबहादुर तामाङको मृृत्यु भएको हो ।
मंगलवार राति करिव ११ बजे भएको उक्त घटनापछि दुवैलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिइसकेको छ । झगडा परेपछि छुटाउन गएका रतन तामाङ र फले गुरुङ पनि घाइते भएका छन् ।
उक्त घटनामा सख्त घाइते भएका रतन तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
प्रहरीका अनुसार फुटबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको हो नेपाली सेनाका भगौडा समेत रहेका राम तामाङ यसअघि पनि विभिन्न घटनामा अवद्ध रहेको प्रहरीको रेकर्डमा उल्लेख छ ।
थप अनुसन्धानका लागी जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मी घटनास्थलतर्फ गएका छन् ।