चीनमा देखिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४० पुगेको छ । भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको हो । यो भाइरस स्वरुप परिवर्तन गरेर फैलन सक्ने हुँदा चिनियाँ अधिकारीहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।
चिनियाँ अधिकारीहरुले यो नँया भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टि गरेका छन् । साथै श्वासप्रश्वासमा संक्रमण गराउने यो भाइरस पहिलो पटक अमेरिकामा पनि देखा परेको छ । चीनबाट सुरु भएको उक्त भाइरस सिएटल सहर आएका एक अमेरिकी नागरिकमा देखिएको हो । यो नँया भाइरसबाट संक्रमित अमेरिकी पुरुष चीनको वुहान सहरबाट अमेरिका फर्केका थिए ।
कोरोना भाइरसको कारण उत्तर कोरियाले नँया नियम लागु गरेको छ । पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले अस्थायी रुपमा विदेशी पर्यटकका लागि सीमा बन्द गरेको छ ।
नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानव जातिमा पहिचान गरिएको थिएन । यो भाइरस ‘जुनोटिक’ भाइरस हो । जुन जनावर र मानिसबीच सर्ने गर्छ । चीनको वुहान सहर हुँदै फैलिएको यो भाइरसले अहिलेसम्म ९ जनाको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको लक्षण रुघा खोकीबाट सुरु हुन्छ । उक्त नँया भाइरस मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरुको ठूलो समूहको एक सदस्य हो ।